राधेलाई ज्योतिको गुनासो, ‘किन यस्तो हुन्छ हौ राधे मलाई’
screennepal
प्रकाशित: २०७२, १६ भाद्र बुधबार
no img

हिऊँ पनि फिका देख्छु, पानी पनि अमिलो भेट्छु
रुखमा नि पातै हुन्न फूलले सुवास दिन्न
घुमौं–घुमौंजस्तो लाग्ने बसुँ–बसुँ जस्तो लाग्ने
उनीसँगै मनका कुरा पोखिरहुँजस्तो लाग्ने
किन यस्तो हुन्छ हौ राधे मलाई ।
कुनै युवतीको प्रेमभावमा डुबेपछिको एक युवक अस्थिर मनोभावलाई गायक ज्योति नेपालले यसरी गाएका छन् । ज्योतिले आफ्नै शब्द तथा संगीतमा ‘किन यस्तो हुन्छ हौ राधे मलाई’ गीत तयार गरेका छन् । जुन गीतले हिजोआज चर्चा पाइरहेको छ ।

Jyoti
ज्योतिले हालै ‘राधे भाग–१’ नामक गीति एल्बम ल्याए । उल्लिखित गीत यसै एल्बममा संगृहीत छ । सानैदेखि संगीतप्रति रुचि राख्दै आएका झापाका ज्याति भन्छन्, ‘प्रेम चक्करमा परेपछि केसम्म हुन्छ भन्ने भाव गीतमा समेटेको छु ।’
अंग्रेजी र राजनीतिशास्त्रमा स्नातक तथा ग्रामीण विकासमा स्नातकोत्तर गरेका उनले संगीतप्रतिको आफ्नो रुचिलाई मर्न नदिन एल्बम ल्याएको बताए । केही समयदेखि संगीतकार ओमप्रकाश राईसँग संगीत प्रशिक्षण लिँदै आएका उनी भन्छन्, ‘संगीत सृष्टिकर्ताको एउटा अनुपम वरदान हो, संगीतले सृष्टिका हरेक प्राणीलाई छुन्छ ।’ उनले भविष्यमा संगीतलाई लिएर अगाडि बढ्ने र नयाँपन खोज्ने बताए ।
‘राधे भाग–१’ मा ६ वटा गीत छन्, जसमा रचनादेखि गायनसम्म ज्योतिकै छ । एल्बममा ‘माग्दिनँ धन, चाहिँदैन मन’ र ‘सस्तो थिएन मेरो माया’ जस्ता गीत छन् । ज्योति नेपाल भन्छन्, ‘हामी रहेक क्षेत्रमा ल्याङल्याङेको सिकार भएका छौं । देश, समाज, देश बनाउने नेतागण, हाम्रो व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका अनि कर्मचारीतन्त्र सबैतिर ल्याङल्याङे प्रवृत्ति ब्याप्त छ ।’ उनले आफ्नो एल्बमको नाम ‘राधे’ राख्नुको कारण भने, ‘संगीत ईश्वरीय वरदान हो, त्यसैले ईश्वरप्रति आदर प्रकट गर्न राधे राखेको हुँ ।’ केही नयाँ सोच, चिन्तन र अध्ययनमा आफ्नो रुचि भएको बताउँदै उनले भने, ‘केही नवीनपनसहित रचना गर्न सकुँ भन्ने भावनाले यस क्षेत्रमा आएको हुँ ।’

Comments