हास्य कलाकारले भने, ‘नेताले वर्षैभरी गाईगात्रा देखाउँछन्’
screennepal
प्रकाशित: २०७२, १३ भाद्र आईतवार
no img

काठमाडौ । केही वर्षयता ‘गाइजात्रा’ हास्य कलाकारका लागि ‘उत्सव’जस्तै भएको छ । ‘गाइगात्रे उत्सव’मा हास्य कलाकार हास्य ब्यंग्य गरेरै मालामाल हुन थालेका छन् । यसपालि पनि हास्य कलाकारलाई गाइजात्राले छोइसकेको छ । आइतबार गाइजात्रा उत्सवकै अवसरमा हास्य कलाकारको एक झुण्ड भृकुटीमण्डपस्थित रिपोर्टस क्लवमा भेला भए । उनीहरुले गाइजात्रालाई उत्सवको रुपमा लिँदै मुलुकमा संविधान र स्थायी शान्तिका लागि शुभकामना व्यक्त गरे । साक्षात्कारमा सहभागी भएका उनीहरुले विभिन्न नेताहरुको क्यारिकेचर, कविता र टुक्कामार्फत देशमा स्थायी शान्तिको कामना गरेका थिए ।

OO
उक्त गाइजात्रे कार्यक्रमको अध्यक्षता गरेका थिए पत्रकार ऋषि धमलाले । धमलासँग गाइजात्रे साक्षात्कारमा सहभागी भएका हास्य अभिनेता दीपकराज गिरिले मुलुकमा कायम रहेको हत्या हिंसाको राजनीतिक अत्य भई नेपाली जनताले शान्तिपूर्ण बातावरणमा बाँच्न पाउन् भन्दै कामना गरे । उनले राष्ट्रलाई दुख परेका बेला खुसी मनाउन नसकेपछि पीडामाथि मनोरञ्जनको मल्हम लगाउनुपर्ने आवश्यकता भएको बताए । गिरिले क्लबका धमलाको प्रस्तुती शैलीमार्फत ब्यंग्य प्रस्तुत गरेका थिए ।
त्यस्तैं, अर्का हास्य कलाकार मनोज गजुरेलले मधेसी दलहरुले आन्दोलनमा मारिनेलाई ५० लाख दिने भनि गरेको घोषणाप्रति ब्यंग्य गर्दै ‘आज नगद कल उधार’ भनेर जनताले भन्नुपर्ने बताए । उनले ५० लाख रुपैयाँ र जनताको ज्यान कसैको मुख्यमन्त्री बन्ने सिढी नबनोस् भन्ने कामना गरेका थिए ।
गजुरेलले ‘धमलाविनाको राजनीति चिनीविनाको चिया र धमला विनाको पत्रकारिता नुनविनाको तरकारी’ भन्दै उनको शैलीप्रति कटाक्ष गरेका थिए । कार्यक्रममा अर्का हास्य कलकार सिताराम कट्टेलले देश रुएको बेला हँसाउनु उपयुक्त नलागे पनि दुखबाट बाहिर निकाल्न हँसाउनुपर्ने बाध्यता भएको बताउँदै मुलुक राजनीतिमा मात्र केन्द्रीत नभई संविधान र शान्तिपूर्ण बाँच्ने बातावरण बन्नु पर्ने बताए ।
उनले देशको पछिल्लो अवस्था, राजनीति दलहरुको गतिविधि, भारतीय हस्तक्षेप र क्लबका अध्यक्ष ऋषि धमलाको प्रस्तुतीशैलीप्रति ब्यंग्य गर्दै काग्रेस बरिष्ठ नेता शेरबहादुर देउवा, हरिबंश आचार्य, केपी ओली, रामचन्द्र पौडेलको क्यारिकेचर गरेर हँसाए ।
दीपाश्री निरौलाले देश रोएको बेला हाँस्न नसकिने भन्दै ‘रोपाइँमा नजानुहोला, कृषिमन्त्रीले समाउला’ भन्ने प्यारोडी प्रस्तुत गरिन् । उनले भाग्यभन्दा पहिला कोही नभेटिने भन्दै धमलाले विवाह कहिले गर्नुहुन्छ भनि गरेको प्रश्नको जवाफ दिएकी थिइन् ।
शिवहरी पौडेलले देशलाई सकारात्मक ढंगले अगाडि बढाउनुपर्ने आवश्यकता औल्याउँदै भने, ‘हामी वर्षमा एकदिन नेतालाई ब्यंग्य गछौं, तर, नेताले बर्षैभरी नेपाली जनतालाई ब्यंग्य गरिरहेका हुन्छन् ।’
पुराना हास्य कलाकार राजाराम पौडेलले सबैको धर्म राम्रो हुने उल्लेख गर्दै कसैको धर्म राम्रो भए किन खर्च गरेर प्रचारप्रसार गर्नुपर्ने भनि ‘धर्म परिवर्तन’प्रति ब्यंग्य गरे । केदार घिमिरेले ‘म बाहुन किसानको छोरो यो देशको शासक भएछु’ भन्ने जातीय विभेदको कुराप्रति ब्यंग्यात्मक प्रस्तुती गरेका थिए ।
मुलुकमा शान्ति कायम होस् भन्ने कामना गर्दै भुईँचालोमा आफूले भोगेका दुखलाई रमाइलो पारामा प्रस्तुती गरे । कलाकार किरण केसीले ‘समस्या पुरानै छ, गोली बारुद नयाँ नयाँ छ’ भन्ने प्यारोडी प्रस्तुत गर्दै धमलाको हमला कार्यक्रम र राजनीतिप्रति ब्यंग्य गरेका थिए । करिब तीन घण्टे कार्यक्रममा कलाकार शिवशंकर रिजालले राजनीतिक भ्रष्टाचारको गीत प्रस्तुत गरेका थिए । श्रीकृष्ण सिंखडाले प्रधानमन्त्री, एमाओवादी अध्यक्ष र काग्रेस बरिष्ठ नेताको क्यारिकेचर गरेका थिए ।

Comments