‘प्रेमभावभन्दा बाहिरका गीत चल्दैन’
screennepal
प्रकाशित: २०७२, ६ भाद्र आईतवार
no img

गीतिकारितामा एक दशक बिताइसके, अझै उनको कलम थाकेको छैन । फुर्सद हुनेवित्तिकै उनी गीत लेख्न रुचाउँछन् । त्यसैले त लेख्दालेख्दै उनले एक दशक वितेको पनि पत्तै पाएनन् । उनी अर्थात् गीतकार रविन्द्र आशिष ‘शैली’ । नेपाली गीतसंगीत र साहित्यको सन्दर्भमा आउँनेवित्तिकै उनी भन्छन्, ‘मलाई लेख्ने बानी नै परिसक्यो, अब निरन्तर लेखिरहने छु ।’ विद्यार्थीकाल देखि नै कविता र गीत लेख्दै आएका उनका ‘आजको आकाश भाग १ र २ (कवितासंग्रह) तथा दुईवटा गीतिएल्बम बजारमा छन् । गीतकार शैलीसँग उनको गीतिकारिता र वर्तमान संगीतबनारे गरिएको कुराकानी :

rabindra asshish
तपाईंलाई चिनाउने गीत कुन हो ?
पहिलो एल्बम ‘मायाले बोलाउँछ भाग–१’ को ‘बाटोमा हिंड्दा’ बोलको गीत हो । जुन गीतमा स्वरुपराज आचार्यको स्वर छ भने विनोद पछाईंको संगीत रहेको छ ।
कस्ता गीत बढी लेख्नुहुन्छ ?
प्रेम प्रसंगका गीत बढी लेख्छु किनकि बजारमा प्रेमभावभन्दा बाहिरका गीत चल्दैचल्दैन । अरु, आत्मरतिका लागि लेख्ने हो ।
प्रेमभाव नभएको गीतले बजार पाइँदैन र ?
धार्मिक गीत धर्ममा लाग्नेहरुको आत्मसन्तुष्टिका लागि प्रयोग हुने भयो । त्यस्तै, राष्ट्रिय गीतले देशप्रेमको भावना बोक्ने भयो । यी गीत शोखका लागि मात्र लेखिन्छ । प्रेमको गीत एकातिर बजाउने र अर्कोतिर देशप्रेमको गीत बजाउने हो भने प्रेमको गीत सुन्नेतिर धेरैको ध्यान आकर्षित हुन्छ ।
आफ्नो दुईवटै एल्बमको नाम किन एउटै राख्नुभएको नि ?
लेखकका लागि एउटै राम्रो हो । जुन नाम जनमानसमा सरल बनिरहेको छ, त्यही नामको सिक्वेल गर्दा एल्बमलाई पनि चिनाउन सकिन्छ जस्तो लागेर ‘मायाले बोलाउँछ’ १ र २ ल्याएको हुँ ।
संयोगान्त कि वियोगान्त बढी लेख्नुहुन्छ ?
संयोगान्त बढी लेख्छु । जहाँ मिलन, त्यहाँ सकारात्मक धार हुन्छ । हामीले सधैं सकारात्मक धारबाट हे-यौं भने समाज पनि सकारात्मक बाटोमा जान्छ भन्ने हो ।
आजभोलिका गीत लामो समय टिक्दैन । किन जस्तो लाग्छ ?
समयअनुसार चल्न गाह्रो हुन्छ । तेश्रो मुलुकबाट आएका गीतको प्रभावले हाम्रो उद्योगलाई पनि छोएको छ । पहिलाका गीतमा सिस्टम र मेलोडी दुईवटै थिए, जसले सदाबहार बनाउन ठूलो सहयोग ग-यो । अहिले सबै भताभुंग अवस्थामा संगीत चलिरहेको छ ।
तपाईलाई अहिलेका गीत कस्तो लाग्छ ?
अहिले गीत टिक्ने भएनन् । नत बिक्ने नै भए । समय बिताउनका लागि मात्र गीत रेकर्ड गरिरहेका छन् कि जस्तो लाग्छ ।
अबको योजना के छ ?
प्रत्येक वर्ष एउटा एल्बम बजारमा ल्याउने सोचमा छु । गीत लेखनको यात्रालाई अझ मजबुत बनाउँदै लैजाने छु ।

Comments