नवलले ल्याए ताराविना जुन (म्युजिक भिडियो हेर्नुस्)
screennepal
प्रकाशित: २०७२, ३ भाद्र बिहीबार
no img

काठमाडौं । गायक नवल राईले आफ्नो एकल एल्बम ‘आश’ मा समेटिएको गीत ‘ताराविना जुन’ को भिडियो सार्वजनिक गरेका छन् । विभिन्न कलेक्शन एल्बममा गाउँदै आएका नवलले एल्बम भने केही समयपछि मात्र रिलिज गर्ने बताए । ‘एल्बम रिलिज गर्नुभन्दा अगाडी श्रोता दर्शकमाझ म्युजिक भिडियो ल्याएको हुँ’ उनले भने, ‘यो मलाई मनपर्ने गीत भएकाले एल्बमभन्दा अगाडी नै रिलिज गरेको हुँ ।’
शनम पुरुषको शब्द तथा ओमप्रकाश राईको संगीत रहेको यस गीतको म्युजिक भिडियोमा नम्रता योगी, सिजन राई र श्याम नेपालीले मोडलिङ गरेका छन् । यस म्युजिक भिडियोको निर्देशन गायक नवल आफैंले गरेका हुन् । भिडियो तिनपिप्ले भ्युटावर, काठमाडौंलगायतका विभिन्न स्थानमा छायांकन गरिएको छ ।

सुनसरीको इनरुवा निवासी गायक नवल राई सानैदेखी गायनमा रुची राख्थे । कृष्ण योञ्जनबाट साश्त्रिय संगीत सिकेका उनी अहिले रेडियो नेपालमा गायनसम्बन्धी प्रशिक्षण लिँदै आएका छन् । केही समयअघि रिलिज गरिएको यस भिडियो अहिले यु–ट्युबमा लोकप्रियता पाइरहेको नवलले बताए ।

Comments