सहिमा भन्छिन्, ‘तिज राम्रो रमझमले’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, २७ श्रावण बुधबार
no img

काठमाडौं । तिज आउन अझै महिनादिन छ । तर, संगीत बजार तिजको रमझमले छोइसकको छ । यस्तै, गायिका सहिमा श्रेष्ठलाई पनि तिजले छोएको छ । सहिमा ‘तिज राम्रो रमझमले’ भन्दै यु–ट्युबमा छाएकी छन् । यसपालिको तिजमा नेपाली नारीहरुलाई रमझम गराउने उद्देश्यले सहिमाले डान्सिङ बिटमा तिज गीत गाएकी छन्, जसको भिडियो यु–ट्युबमा रिलिज गरिएको छ ।

sahima
आफ्नो नयाँ तिज गीतको म्युजिक भिडियो सार्वजनिक गरेपछि सहिमाले भनिन्, ‘नेपाली दिदी–बहिनीहरुलाई तिजमा रमझम गराउन उद्देश्यले गीत ल्याएकी हुँ ।’ सहिमाको यस गीतको भिडियोलाई शिवदर्शन डिजिटलले यु–ट्युबमा सार्वजनिक गरेको हो । सार्वजनिक गरेको २४ घन्टामै राम्रो प्रतिक्रिया पाइरहेको सहिमाले बताइन् । उनका अनुसार डान्सिङ बिट भएकाले श्रोता÷दर्शक पहिलोपटक हेर्दै रुचाएका छन् ।
महेश खड्काको संगीत रहेको ‘तिज राम्रो रमझाले’ मा सहिमालाई सन्दीप न्यौपानेले स्वरमा साथ दिएका छन् । राजधानीको सिनामंगलस्थित विश्रान्ती पार्टी प्यालेसमा छायांकन गरिएको यस भिडियोको कोरियोग्राफी तथा निर्देशन स्मृति तिमल्सिनाले गरेकी हुन् । भिडियोमा सहिमा र सन्दीपले पनि कम्मर मर्काएका छन् ।
‘तिज संस्कृतिक चाडमात्र नभएर पछिल्लो केही वर्षयता नाचागानको पर्वका रुपमा समेत लिन थालिएको छ । त्यसैले तिज गीतमा मैले डान्सिङ बिटलाई जोड दिएकी हुँ’ सहिमाले भनिन्, ‘गतवर्ष पनि मैले डान्सिङ बिटमै तिज गीत ल्याएकी थिएँ । श्रोताले रुचाए पनि ।’
सहिमाले तिज गीत गाउन थालेको पनि गत वर्षबाटै हो । आधुनिक तथा पप गायनमा चर्चामा रहेकी सहिमाले ‘सहिमा’, ‘मस्ती’ र ‘शृंगार’ जस्ता तीन आधुनिक एल्बम ल्याइसकेकी छन् । पहिलो एल्बममा संगृहीत ‘हेरेको हेरै हुन्छ होला म’ गीतमार्फत नेपाली गायनमा चम्केकी सहिमाले भनिन्, ‘पहिले मलाई तिज गीत गाउने रहरै थिएन । तर, जब तिजका बेला विभिन्न स्थानबाट कार्यक्रमका लागि निम्तो आउन थाल्यो । त्यसपछि तिज गीत गाउन थालेकी हुँ ।’ भिडियो हेर्न तल लिंकमा क्लिक गर्नुस् ।

Comments