काठमाडौं । देउडा भन्नेवित्तिकै छुटाउन नमिल्ने नाम हो, गायक किर्तिबहादुर सिंह । देउडा गाएरै दुई दशकभन्दा बढी विताइसकेका सिंहले करिब एक दर्जन देउडा गीतका एल्बम ल्याकइसकेका छन् । उनी भन्छन्, ‘देउडा गाएरै आधा जीवन बिताइसकेको छु ।’ देउडा पश्चिम नेपालमा गाइने लोकप्रिय भाका हो, जसको आफ्नै पहिचान छ । लोकसंस्कृतिजस्तै सुदू्र र सुदूरपश्चिममा देउडा संस्कृति धरोहर बोकेको भाका हो । त्यसैले देउडा भाकाको संरक्षण तथा प्रवद्र्धनका लागि सिंह लागि परेका छन् । उनले प्रत्येक वर्षजस्तो देउडा एल्बम निकाल्दै आएको बताए । उनी भन्छन्, ‘०४२ सालदेखि नै निरन्तर देउडा गाउँदै आएको छु ।’
Kirti Bdr. Singh, Deuda Singer.
सिंहले ०५१ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उतिर्ण गरेका हुन् । तर, स्वर परीक्षा गर्नुअघि नै उनले एल्बम ल्याइसकेका थिए । ‘मैले ०४८ सालमै ‘दुःख बिसाउनी’ एल्बम ल्याएको थिएँ’ देउडा गायक सिंहले भने, ‘त्यो समयमा उक्त एल्बम निकै हिट भएको थियो ।’
बाजुरा जुकोटमा जन्मेर बिरेन्द्रनगर सुर्खेतमा हुर्केबढेका सिंहले ‘दुःख बिसाउनी’ को सफलताले हौसिएर लगातार देउडा एल्बम निकाल्न सुरु गरेको बताए । उनले अहिलेसम्ममा जौवाली जौका, नौलोमाया, नौली हदेली, जुग जान्या पिरती, कर्णालीका पुलको, साइको पिरती र ढल्क्यो जोवनजस्ता १० एल्बम श्रोतासमक्ष पस्किसकेका छन् । यी एल्बमले उनलाई देउडा गायकको रुपमा स्थापित त गरेको छ नै, उनी देउडा गीत संरक्षकका रुपमा समेत चिनिन्छन् ।
गायनसँगै सरकारी कर्मचारी समेत रहेका सिंहले चाँडै नयाँ देउडा एल्बम लिएर आउने बताए । ‘अहिले नयाँ एल्बमका लागि रेकर्डिङको काम भइरहेको छ’ राष्ट्रिय योजना आयोगका कर्मचारी रहेका गायक सिंहले भने, ‘केही गीतको म्युजिक भिडियो बनाएपछि एल्बम सार्वजनिक गर्नेछु ।’