रातो सारीमा नाँच्दै गरेकी भेटिइन् देविका
screennepal
प्रकाशित: २०७२, १५ श्रावण शुक्रबार
no img

काठमाडौं । पछिल्लो केही वर्षयता धेरैजसो प्रवासमै रमाउँदै आएकी लोकगायिका देविका केसी शुक्रबार राजधानीको धुम्बाराहीस्थित एक पार्टी प्यालेसमा रातो सारीमा छमछम नाचिरहेकी भेटिइन् । उनी निर्देशक भट्टको इशारामा नाचिरहेकी थिइन् । यसपालीको तिजका लागि गीत रेकर्डिङ गर्न यसै साता कतारबाट काठमाडौं आएकी देविकासँगै एक दर्जनभन्दा कोरस डान्सर कम्मर मर्काउँदै थिए । उनीहरुका बीचमा एक्लो पुरुष थिए, गायक सन्दीप न्यौपाने । उनी पनि पसिना पुछ्दै ताल मिलाउँदै थिए । ती सबै क्रियाकलापलाई करण चैसिरले क्यामेरामा कैद गर्दै थिए । देविका रातो सारीमा गीतसँगै मच्चिरहँदा सन्दिप न्यौपानेका आँखा पनि कर्के भइरहेका थिए ।

Devika

गायिका देविका केसी ((दायाँ) । तस्बिर: नविन गुरुङ/स्क्रीन नेपाल

तिज गीत ‘रातो सारीमा’ छायांकनको हो । देविकाले यसपटकको तिजका लागि चार गीत गाउन भ्याइन् । जसमध्ये एउटा ‘रातो सारीमा’ हो, जुन गीतको छायांकन शुक्रबार राजधानीमा गरिएको छ । गीत छायांकन स्थलमै भेटिएकी गायिका देविकाले भनिन्, ‘यसपालीका तीजका लागि चार वटा गीत गाउँदैछु । जसमा तीन वटा रेकर्डिङ भइसकेको छ । एउटा चाँडै गर्दैछु ।’ सुजन लम्सालको शब्द तथा संगीत रहेको ‘रातो सारीमा’ गीतको छायांकन शुक्रबार नै सकिएको छ ।

devika 1
गत वर्ष देविकाले गाएको एउटा गीत विवादित बनेको थियो । तर, विवादसँगै उनी चर्चामा पनि आइन् । गायक पशुपति शर्मासँग गाएको ‘हामी नेपाली हौं, मलाई त्यति थाहा छ’ बोलको गीतलाई लिएर केही संघसंस्थाले विरोध जनाएको थिए । तर, यसपटक भने विशुद्ध हिन्दु नारीहरुका लागि तिज गीत गाउन नेपाल आएको उनले सुनाइन् ।
‘केही वर्षयता तिज गीतलाई प्राथमिकता दिँदै आएको हुँ’, उनले भनिन्, ‘त्यसैको निरन्तरता दिएकी हुँ ।’ यसपटक उनले खुमन अधिकारीसँग ‘ए, काले एउटा मोबाइल चाहिएको छ फेसबुक चल्ने खाले’ गाएकी छन्  भने पशुपति शर्मासँग ‘सबैभन्दा ठूलो पैसा’ बोलको गीत गाउँदैछिन् । ती सबै गीत तिज केन्द्रीत हुन् ।

devika 3
हिन्दुधर्मालम्बी नारीहरुको विशेष पर्व तिजको समयमा देविका प्रायः विदेशमै व्यस्त हुँदै आएकी छन् । त्यस्तै, यसपालीको तिजमा उनी विदेशमै हुने भएकी छन् ।’ ‘तिजमा क्यानडा जाँदैछु’ देविकाले भनिन्, ‘यसपाली पनि मेरो तिज विदेशमै वित्ने भयो ।’  जहाँ पुगेपनि तिजप्रतिको आफ्नो सद्भाव र आस्था उस्तै हुने उनले सुनाइन् ।

Comments