काबेली किनारमा डा. उप्रेती
screennepal
प्रकाशित: २०७२, १४ असार सोमबार
no img

काठमाडौं । प्राडा. रामप्रसाद उप्रेतीले पूर्व ताप्लेजुङको प्रसिद्ध नदी काबेलीलाई भाव–बिम्बमा उतारेर ‘काबेली कनार’ नामक काव्यकृति प्रकाशन गरेका छन् । यसअघि ‘थोत्रा कलमहरु’ कविता संग्रह र ‘अन्तिम आकाश’ नियात्रा संग्रह निकालेका उनले नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तको उपस्थितिमा अनाथ बालबालिकाहरुबाट आफ्नो तेस्रो साहित्यिक कृति सार्वजनिक गराए ।
‘अहिलेको सन्दर्भमा छलकपटरहित यी बालबालिकाबाट धेरै नै सिक्नुपर्छ,’ उप्रेतीले भने, ‘त्यही भएर यिनीहरुबाटै कृतिको घुम्टो खुलाएँको हुँ ।’

kabeli

उप्रेतीकै सहयोगमा सञ्चालित अनाथ गृहमा पुस्तक लोकार्पण र काव्य चर्चाको कार्यक्रम आयोजना गरेको थियो नेपाली कला साहित्य डट कम प्रतिष्ठानले । प्रतिष्ठानले नै प्रकाशन गरेको कृति ‘काबेली किनार’माथि टिप्पणी गर्दै समालोचक लक्ष्मणप्रसाद गौतमले ‘उप्रेतीका कवितामा देशप्रेम र प्रकृतिप्रेमको झलक रहेकोे’ दाबी गरे ।
कुलपति सरुभक्तले भूकम्पपछि साहित्य मनोवैज्ञानिक चिकित्सासित पनि जोडिएर आएकोमा आफूलाई खुसी लागेको बताए । कार्यक्रममा बृहत् शान्तिधामका स्वामी चतुर्भुजाचार्य चुडामणिश्री महाराजले साहित्य र अध्यात्म आन्तरिक शान्तिसित जोडिएको उल्लेख गरे । प्रतिष्ठानकी अध्यक्ष मोमिला जोशीले उप्रेतीको लेखनमा जीवन अनेक पक्ष भेटिने बताइन् । त्रिवि शिक्षण अस्तपालका पूर्वक्याम्पस प्रमुख उप्रेतीका स्वास्थ्यसम्बन्धी थुप्रै पुस्तक छन् ।

Comments