उमाको ‘यो जिन्दगी’ को सधैं घाउ (भिडियो हेर्नुस्)
screennepal
प्रकाशित: २०७१, १९ चैत्र बिहीबार
no img

काठमाडौं । सानैदेखि गायिका बन्ने रहरलाई ‘यो जिन्दगी’मार्फत उमा थापाले पूरा गरेकी छन् । गायनप्रति रहर र तीव्र इच्छा भए पनि समयमै एल्बम ल्याउन नपाएकी उमाले हालै ‘यो जिन्दगी’ नामक आधुनिक तथा पप आधुनिक गीति एल्बम ल्याएकी हुँ । एल्बम सार्वजनिक गरेपछि उनले आफ्नो एउटा इच्छा पूरा भएको महसुस गरेकी छन् । उमाले भनिन्, ‘पारिवारिक तथा आफ्नै व्यस्तताका कारण रहर पूरा गर्न ढिलो भएको हो । तर, अब निरन्तर गायनमै रहनेछु ।’

uma
गायिका उमाको ‘यो जिन्दगी’ पहिलो एकल एल्बम हो । यो एल्बम निकाल्ने ठ्याक्कै ५ वर्ष लागेको उनले सुनाइन् । एल्बममा सुरेश अधिकारीको एकल संगीत रहेको छ । सुरेश अहिलेका व्यस्त संगीतकार भएकाले पनि एल्बम तयार पार्न समय लागेको उमाको भनाइ छ । उनले भनिन्, ‘एल्बम तयार गर्न ५ वर्ष लाग्नुको कारण म आफँै पनि हुँ । म नेपाल र अमेरिका ओहोर–दोहोर गरिरहने मान्छे । अर्को कुरा सुरेश अधिकारी पनि साह्रै व्यस्त मान्छे । त्यसैले भोलि–भोलि भन्दाभन्दै ठ्याक्कै ५ वर्ष लाग्यो ।’
पाँच वर्षको मिहिनेतअनुसार एल्बमबाट प्रतिफल पाएको उमाको भनाइ छ । ‘हतारमा गरेको कामभन्दा मिहिनेत गरेर फुर्सदमा गरेको राम्रो हो,’ उनले भनिन्, ‘अहिले मलाई यस्तै महसुस भइरहेको छ ।’ ०५१ सालबाटै संगीतको साधना गर्दै आएको बताउँदै उमाले भनिन्, ‘हरेक क्षेत्रमा अनुभव लिएर गरेको काम राम्रो हो । त्यसैले आफ्नो इच्छा र रहर पूरा गर्न लामो समय संगीतको अध्ययन गरेँ ।’ काठमाडौंको रविभवनमा जन्मिएकी उमाले गायनमा लाग्ने प्रेरणा घरपरिवारबाटै पाएको बताइन् ।
उमाको ‘यो जिन्दगी’ मा पाँच गीत छन्, जसमा सधैँ घाउ, बासै काटी, यो जिन्दगी, भोक, तिर्खा र चट्याङ बोलका गीत छन् । एल्बममा राधिका दाहाल, सुरेश अधिकारी, रमेश ओझेल र गायिका स्वयंकै शब्द रहेको छ । यस एल्बमलाई उमा महेश्वर म्युजिक सेन्टरले बजारमा ल्याएको हो, जुन कम्पनी गायिका उमाकै हो । संगीतलाई निरन्तरता दिने हेतुले आफ्नै कम्पनी स्थापना गरेको उनको भनाइ छ । उनले ‘सधै घाउ’ गीतको म्युजिक भिडियो पनि बनाएकी छन् । म्युजिक भिडियो हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुस् ।

Comments