कुशलका कुशल गीतहरू
screennepal
प्रकाशित: २०७१, १६ चैत्र सोमबार
no img

सिन्दुर भर्नु एउटा कुरा
जीवन काट्नु अर्को कुरा
मलाई लाग्छ जिन्दगीमा
माया गर्नु बेग्लै कुरा ।

उल्लिखित गीत नसुन्ने सायदै होलान् नेपाली श्रोता । प्रेमभावना उद्धृत उक्त गीत श्रोता÷दर्शकका लागि ढुकढुकी त बन्यो नै, यसै गीतले गायक कुशल थलङ लिम्बूलाई नेपाली सांगीतिक क्षेत्रमा स्थापित पनि ग¥यो । जुन गीत कुशलको ‘साथ’ नामक एल्बममा संगृहीत छ । संख्याको हिसाबले ‘साथ’ कुशलको दोस्रो एल्बम हो । तर, हालसम्म उनले तीन एल्बम प्रस्तुत गरिसकेका छन् । कुशलको पछिल्लो एल्बम हो, ‘साथ–२’ । ‘साथ’ एल्बमबाट दर्शक÷श्रोताको पनि साथ पाउँदै आउका उनी भन्छन्, ‘श्रोताकै माया र प्रेरणाले निरन्तरता दिन सकेको छु ।’

kkk

गायक कुशल थलङ लिम्बू

०६१ सालमा ‘कुशल’ नामक एल्बममार्फत सांगीतिक क्षेत्रमा उदाएका कुशल अहिले आफ्ना सेलेक्टेड गीतको संग्रह लिएर आएका छन् । एल्बमको नामै उनले ‘सेलेक्टेड कुशल’ राखेका छन् । एल्बम सार्वजनिकसँगै कुशलले विगत सम्झिँदै भने, ‘सिन्दुर भर्नु एउटा कुरा बोलको गीतले मलाई गायनमा स्थापित गरेको हो । उक्त गीत जसरी श्रोताको ढुकढुकी बन्यो, त्यसरी नै म पनि उहाँहरूको मनमा बस्न सफल भएँ ।’ आफूलाई श्रोतामाझ स्थापित गराउने गीतलाई उनले सेलेक्टेड एल्बममा पहिलो नम्बरमै राखेका छन् । ‘मलाई न्याय दिएको गीतलाई न्याय गरेको हुँ,’ सिन्दुर भर्नु एउटा कुरा गीतबारे कुशलले भने, ‘अहिले पनि धेरैले मलाई यही गीतले चिन्छन् ।’
‘सेलेक्टेड कुशल’ मा १० वटा गीत छन् । संग्रहमा सिन्दुर भर्नु, आइदेऊ तिमी, विधाताले, दुख्छ मुटु, आँखा सन्काई, तिम्रो रूपभन्दा पर, मर्नु न बाँच्नु, वेलकम धरान, ए नि है र ऋतु राम्रो बोलका गीत रहेका छन् । यी श्रोताले रुचाएका गीत हुन् । तर, श्रोता÷दर्शकले रुचाएर पनि प्रमोसनको कमीले गर्दा सबै ठाउँमा पु¥याउन नसकेकाले संग्रह ल्याएको उनले बताए ।
संग्रहमा आफ्ना तीन एल्बमका सेलेक्टेड गीतका साथै केही नयाँ छन् । ‘आइदेऊ तिमी’ नयाँ गीत हो, जुन गीत अहिले विभिन्न मिडियामा चर्चामा रहेको छ । ‘आइदेऊ तिमी’ गीतको म्युजिक भिडियो पछिल्लो समय यु–ट्युबमा दर्शकले रुचाएको गीतमध्ये पर्छ । कला चेम्जोङसँग गाएको यस गीतको म्युजिक भिडियोमा कुशलले अभिनेत्री करिश्मा मानन्धरसँग अभिनय गरेका छन् । त्यस्तै, ‘मर्नु न बाँच्नु’ र ‘ऋतु राम्रो’ गीत पनि चर्चामा आएको गीत हो । एकपटक चर्चामा आइसकेको गीतलाई कलेक्सन गर्नुबारे कुशल भन्छन्, ‘राम्रो सिर्जनालाई मर्न नदिन संग्रहमा ल्याएको हुँ । मेरो अधिकांश गीत राम्रो भए पनि प्रमोसन गर्न नसक्दा श्रोतासामु पु¥याउन सकिनँ । तर, जो–जसले सुने÷हेरे, सबैले रुचाएका छन् । त्यसैले छुटेका श्रोता÷दर्शकका लागि हो यो एल्बम ।’
कुशलले सांगीतिक करिअर मोफसल अर्थात् धरानबाट सुरु गरेका हुन् । प्रमोसन नपुग्नुको कारण यो पनि हो । जब राजधानी छिरेर गायनलाई आत्मसाथ गरे, तब आफूलाई भाग्यले साथ दिएको उनी बताउँछन् । गायनमा लाग्ने प्रेरणा र हौसला भने सांगीतिक रियालिटी सो ‘तिम्रो सुर मेरो गीत’बाट पाएको उनले सुनाए । नेपाल टेलिभिजनबाट प्रसारित उक्त सो कुनै समय चर्चित थियो । उक्त रियालिटी सोमा फस्ट रनरअप भएपछि एल्बम निकाल्ने हौसला मिलेर पहिलो एल्बम ‘कुशल’ ल्याएको उनले बताए ।
‘यो एल्बम धरानबाट लन्च गरेको थिएँ’ उनले भने, ‘त्यसैले प्रमोसन नै पुगेन । सेलेक्टेड एल्बममा मेरो पहिलो एल्बमको गीत पनि राखेको छु ।’ सेलेक्टेड संग्रहसहित चार एल्बमका गायक बनेका कुशलले भिसिडी संग्रह पनि चाँडै ल्याउने सुनाए । ‘सबै गीतको भिडियो तयार भइसकेको छ’ आफ्नो तत्कालको योजनाबारे कुशलले सुनाए, ‘महिना दिनभित्रै भिडियो कलेक्शन ल्याउँदै छु । ती भिडियो पनि मेरो गीतहरूकै सेलेक्टेड हो ।’ एल्बमका साथै देश–विदेशमा हुने विभिन्न स्टेज कार्यक्रममा व्यस्त हुँदै आएका कुशलले भने, ‘अहिले पनि केही देशका लागि कुुरा भइरहेको छ । सायद चाँडै विदेश कार्यक्रममा जान्छु होला ।’ यसअघि नेपालका अधिकांश सहरलगायत हङकङ, दुबई र भारतका विभिन्न सहरमा कार्यक्रम गरिसकेको उनले सुनाए ।

Comments