एक घुम्ती, एक पात्र: सम्बन्धको ‘लेभल’
screennepal
प्रकाशित: २०७१, २३ फाल्गुन शनिबार
no img

 dbडिबी खड्का

जीवनमा पहिलोपल्ट ‘गसिप’ले हल्लाएको छ, गायक राजेश पायल राईलाई । उनले २५ वर्षे करिअरमा हजारौँ हल्ला बेहोरे । बजारमा आउने हल्ला बजारबाटै हराउँथे । तर, यसपटक त्यस्तो भएन । शक्तिशाली देखियो गसिप । उनलाई मात्रै होइन, आफन्तलाई समेत यसले ‘सिरियस’ बनायो । अहिले उनी गसिप र यथार्थबीचको निकटता खोजिरहेका छन् । आइतवार बजारमा उनी र केकी अधिकारीबीच सम्बन्ध निकट हुँदै गएको गसिप आएको थियो । सोमवार बेलुका भेट हुँदा उनले भने, ‘गसिप भनेर यसपटक बेवास्ता गर्न सकिएन हौ, डिबीजी ।’
राजेश पायल खुला किताब हुन् । उनले आफूबारे भन्न बाँकी केही राखेकै छैनन् । गुप्तांगमा रहेको रिङबारे भने, यौनजीवनबारे बोले । हाम्रो समाजमा यीभन्दा गोप्य कुरा अरू के हुन सक्छन् ? उनको मान्यता छ– ‘मेराबारे सबै थोक जान्ने हक मेरा स्रोतालाई छ । त्यसैले सबै कुरा खुलस्त राख्छु ।’ तर, उनले जीवनमा नबोलेका पनि केही कुरा रहेछन् । उनीबारे नआएका हल्ला पनि केही रहेछन् । बल्ल महसुस गर्दै छन् । ती हुन्, वैवाहिक जीवन र प्रेम सम्बन्ध ।
०००
राजेशको ‘दिलले’ केकीलाई ‘दर्शन नमस्ते’ गरेकै हो त !
शनिवार बेलुकाको एउटा घटनाको विवरण थियो यो । गायक राजेश पायल राईले आफ्नो वल्र्ड टुरको सफलतासँगै चर्चित गीत ‘दर्शन नमस्ते’ नामबाट रेस्टुरेन्टसमेत खोलेका छन् । त्यसको उद्घाटन गरे । नेपाली सुगम संगीतमा राज गरिरहेका उनले निकटहरूको सूची बनाउने हो भने उनको तीनतले रेस्टुरेन्टले धान्दैनथ्यो । तर, उनले मनले खाएका केही पाहुना बोलाए । तीमध्ये धेरै पत्रकार थिए ।
धेरै फिल्ममा गीत गाएका र फिल्मकर्मीसँग निकट रहेका राजेशले केक काट्नका लागि अभिनेत्री केकी अधिकारी निम्त्याए । केकी बोलाउनुको एउटा उद्देश्य समाचार पनि थियो । रेस्टुरेन्टको उद्घाटनमा अहिलेकी चल्तीकी हिरोइनलाई पनि सामेल गराउँदा बलियो समाचार बन्ने सोचेका थिए ।
Rajesh+kekiसंयोगले केकी एक्ली फिल्मकर्मी मात्रै होइन, त्यो माहोलमा एक्ली युवती पनि भइन् ।
स्वाभाविक रूपमा प्रश्न उठ्यो, ‘राजेशका निकट मानिने यत्रा अभिनेत्री र अभिनेता छन् । रोजाइमा केकी मात्रै किन ?’ राजेशले सहज उत्तर दिए, ‘केकी मलाई मन पर्ने मान्छे हो !’ नेपाली संगीतमा राज गरिरहेको एउटा व्यक्तित्वले आफूलाई अतिथि बनाएकोमा केकीलाई पनि गर्व महसुस भइरहेको हुनुपर्छ । केक काट्दै गर्दा भनिन्, ‘बहराइनमा सँगै कार्यक्रम गरेपछि उहाँका प्रशंसकहरू देखेर म छक्क परेँ ।’ पहिलो केक काट्ने अवसर आफूलाई दिलाएकोमा खुशी प्रकट गरिन्, ‘दोस्रो, तेस्रो र चौथो वर्षको केक काट्ने अवसर पनि मैले नै पाऊँ ।’ राजेशले ठट्टा गरे, ‘त्यसका लागि बिहे मसँगै गर्नुपर्ने भयो ।’
कुराकानीका क्रममा राजेशले ‘केकी मनपर्ने मान्छे’ दोहो¥याएपछि त्यतिबेलै शुक्रवारकर्मीले प्रश्न गरेको थियो, ‘स्पष्ट पार्नुप-यो, मन पर्ने हिरोइन कि युवती ?’ केकीले प्रसंग मोडिन् र कुरा सकियो ।
त्यो माहोल हेर्नेलाई लाग्यो, राजेशले केकीलाई दिलमै ‘दर्शन नमस्ते’ त गरिसकेनन् ? बहराइनमा भएको कार्यक्रमबाट यी दुई अविवाहित सेलिब्रिटीको घनिष्ठता बढेको देखिन्थ्यो । उनीहरूले त्यहाँ रहँदा खिचेर सार्वजनिक केही सेल्फीले पनि सम्बन्धको धागो जेलिन थालेको अनुमानसहितका हल्ला बजारमा त्यतिबेलै बिकेका थिए ।
०००
सोमवार बेलुका ठूलै ज्ञान प्राप्त भएको शैलीमा राजेशले भने, ‘मैले महिलाबारे त कहिल्यै बोलेको रहेनछु । पहिलोपल्ट बोलेकै कारण यो इस्यु सिरियस भइदियो ।’ उनी विगततिर फर्किए, ‘सबै खालका कुरा आए पनि महिलासँग जोडिएर मेराबारे कहिल्यै समाचार आएनछन् । त्यसैले सबैले हल्लासँग सत्यको निकटता खोजेछन् ।’
शुभेच्छुकको आउन बाँकी फोन छैन । उनलाई आफन्तले विवाहबारे दिनसक्ने सल्लाह दिइसके । उनले मोबाइलमा रहेका केही म्यासेज ‘स्याम्पल’ देखाउँदै भने, ‘कतिले जोडी मिल्छ भने । कतिले विकल्प सुझाए । आमाबुबाले समेत लन्डनबाट फोन गरेर के विचार गरिस् ? भनेर सोध्नुभयो ।’
यो घटनाले उनलाई आफ्नै जीवनको समीक्षा गराएछ । उनले केही बेर सोचेर भने, ‘मेरो सफलताका जिम्मेवार यस्ता कुरा पनि रहेछन् । स्वर राम्रो भए पनि खराब चरित्र भएको मान्छेका रूपमा चित्रित भएको भए यो स्थान पाइँदैनथ्यो ।’
उनी धेरै केटीहरूको नजरमा परे । धेरै उनको नजिक आउन खोजे । कति महिला निकट साथी पनि भए । तर, उनको मनमा कसैले डेरा जमाउन सकेन । पहिलो चरणमा उनी त्यतातिर अल्झिन पनि चाहेनन् । भन्छन्, ‘मलाई एक नम्बर हुने रहर थियो, बुबालाई सम्मान गर्ने मान्छे देखेर पनि म आफैँ केही बन्नुपर्छ भन्ने लाग्यो ।’
सबथोक छाडे पनि यिनलाई छाड्नु हुँदैन भन्ने खालको प्रेम नै भएन उनको । बीचमा एउटा नेपाली हिरोइन (उनले नाम गोप्य राख्न आग्रह गरे) उनको नजिक आइपुग्न थालेकी थिइन् तर राजेशलाई मायाजालमा फस्न मन लागेन ।
‘साथीभाइ, आफन्त र शुभचिन्तकको घेराभित्र रहँदा कहिल्यै एक्लो महसुस गरिएन र विवाहबारे सोचिएन,’ उनी भन्दै थिए । बल्ल उनले विवाहबारे सोच्न थालेका छन् । कारण विविध छन् । तीमध्ये नाम मात्रै होइन, मनसमेत मिल्ने उनका मितज्यू राजेश हमालले विवाह गर्नु एउटा हो । हमाल घरबारमा व्यस्त भएपछि यी राजेश एक्लो महसुस गरिरहेका छन् ।
घर, गाडी किन्ने पैसा उनले उहिल्यै जोडेका थिए । नजोड्दा पनि समस्या नै पर्नै खालको घरका मान्छे होइनन् उनी । उनलाई ‘स्थायी’मा कहिल्यै चासो भएन, न सम्बन्ध न घर, गाडी ।
यो वर्ष उनमा ‘स्थायी’ मोह पनि पलाएको छ । घर पनि किने, गाडी पनि भर्खरै मात्रै जोडेका छन् । उनले यति गरिरहँदा पनि साथीभाइले ‘विवाहको सुरसार’को संज्ञा दिइसकेका छन् । राजेश पनि ‘हो’ भन्छन् । प्रश्न गर्छन्, ‘खोइ त केटी ?’
भर्खर आएको गसिपमै जोड दिइयो, ‘केकी नि ?’ उनी एकछिन गम्भीर भए र त्यसपछि भने, ‘सम्बन्ध त्यो लेभलसम्म पुगेकै छैन ।’

शुक्रवारबाट

Comments