काठमाडौं । ‘बराह ज्वर्लरी मिस लिम्बू’ मा १९ युवती अन्तिम स्पर्धाका लागि छनोट भएका छन् । प्रतियोगिताको यस तेस्रो संस्करणका लागि शुक्रबार राजधानीमा आयोजित अडिसनमा ९ युवती छनोट भएका छन् । प्रतियोगिताका लागि आवेदन दिएका ३० मध्येबाट ९ जना छनोट भएका हुन् । यसअघि धरानमा अडिसन लिइएको थियो, जहाँ १० युवती छनोट भएका थिए । धरान र राजधानीमा छनोट भएका १९ लिम्बू युवती करिब एक महिने प्रशिक्षणपश्चायत अन्तिम स्पर्धामा उत्रनेछन् ।
याक्थुङ युथ एसोसिएसन ‘वाईवाईए’द्वारा आयोजित ‘मिस लिम्बू’ को राजधानी अडिसनमा कोरियोग्राफर जयन सुब्बा मानन्धर, म्युजिक भिडियो निर्देशक युगल पोमो, नायक नरेन खड्का, समाजसेवी कृष्णा लिम्बू, गतवर्षकी ‘मिस लिम्बू’ की फस्ट रनरअप इलिना थलङलगायत निर्णायकमण्डल रहेका थिए । लिम्बू समुदायको कला, संस्कृति र भेषभूषाको प्रवद्र्धन तथा लिम्बू समुदायका युवतीको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले तीन वर्षअघि ‘मिस लिम्बू’ को सुरुवात गरिएको हो । यसअघि निलिमा मादेम र मेरिना लिम्बूले ‘मिस लिम्बू’ को ताज चुमिसकेका छन् । प्रतियोगिताको अन्तिम स्पर्धा २१ चैतमा राजधानीस्थित राष्ट्रिय नाचघर जमलमा हुने आयोजक ‘वाईवाईए’ले जनाएको छ ।