काठमाडौँबाहिर पनि छ अवसर –कृष्णा गुरुङ, गायिका(कुराकानी)
screennepal
प्रकाशित: २०७१, २३ फाल्गुन शनिबार
no img

पोखरालाई आधारथलो बनाएर पनि लोकगायनमा कृष्णा गुरुङले छुट्टै ठाउँ बनाएकी छिन् । रोमान्टिक शैलीका गीतहरूबाट चम्किएकी उनी स्टेज जमाउने गायिकामध्ये पर्छिन् । उनको स्वरमा रहेका अधिकांश गीत हिट छन् । ‘एकादशी बजारमा’बाट स्वरमा सहकार्य गरेका उनीहरूका यतिबेला ‘प्यार हुन्छ’ र ‘निधारैमा लेखेसि’ चर्चित छन् । 

Krishna Gurung  Photo: Dinesh Gole / Nagarik / Republica /

कृष्णा गुरुङ

काठमाडौँबाहिर बसेर गायनलाई मात्रै करिअर बनाएर बाँच्न कत्तिको सजिलो छ ?
राम्रो गाउनेलाई त्यति गाह्रो छैन । अहिले काठमाडौँबाहिर पनि इभेन्ट हुन्छन्, गाउने अवसर छ । सिजनको समयमा त भ्याइ–नभ्याइ नै हुन्छ ।
पोखरामै बसेर पनि लोकगायनमा जमिरहेको चाहिँ तपाईं एक्लो हो कि ?
म पनि सम्पूर्ण रूपमा पोखरा त बस्दिनँ । गीत रेकर्ड गर्न काठमाडौँ नै आइरहेकी हुन्छु । भिडियो सुटिङ पर्दा पनि यतै आइरहेकी हुन्छु । म पोखरामै बसे पनि विदेशतिरका स्टेजमा र नेपालका विभिन्न भूभागमा गाउनका लागि अफर आइरहन्छ ।
दोहोरी गायिका हुने रहर कहिलेदेखि थियो ?
गाउँमा हुने चाडपर्वमा दोहोरी खेल्थ्यौँ । गायिका हुने रहर थिएन । किनकि, मेरो गाउँका अरू दिदीहरू पनि दोहोरी गायिका हुनुहुन्थ्यो । गाउँलेहरू उहाँहरूका कुरा काट्थे ।
तपाईं गायिका भएपछि चाहिँ कुरा काटेनन् ?
स्याङ्जाबाट म पढ्न भनेर पोखरा आएकी थिएँ । धेरैले स्वर पनि राम्रो छ भने । दोहोरी साँझमा गीत गाउँदै पढिरहेकी थिएँ । गाउँमा कुरा काट्न थालिहालेछन् । दिदी र बुवा पोखरा आएर ‘अब यहाँ बस्नुपर्दैन’ भनेर गाउँ लिएर जानुभयो । जम्मा गाउन थालेको २२ दिनमात्रै भएको थियो । फेरि पढ्छु मात्रै भनेर पोखरा आएँ । दुई वर्ष गीत गाउने कुरामा चासो नै दिइनँ ।
फेरि गायनतिर फर्किंदा परिवारले केही भनेनन् ?
दुई वर्ष परिवारको कुरा मानेर आज्ञाकारिता र जिम्मेवारीपनको उदाहरण प्रस्तुत गरिसकेकी थिएँ । त्यसपछि बिस्तारै फकाएँ, बिग्रने मान्छे घरमा पनि बिग्रिन्छ भन्दै । त्यसपछि फेरि गायन क्षेत्रमा लागेँ ।
पहिलो गीत नै हिट भयो है ?
पहिलो गीत ‘एकादशी बजारमा’ त्यस्तो हिट होला भन्ने मलाई लागेको थिएन । तर, एकाएक चर्चित भयो । हुन त म आफ्नो स्वरमा गीत रेकर्ड गराउनुअघि नै स्टेजमा हिट भइसकेकी थिएँ । लाइभ दोहोरी गाउनुका साथै अग्रज कलाकारका गीत स्टेजमा प्रस्तुत गर्थें । नेपालमात्रै होइन, विदेशमा पनि आफ्नो गीतबिना नै कार्यक्रमका लागि म पुगिसकेकी थिएँ । हङकङमा कार्यक्रम गर्दा भने आफ्नो गीत हुनुपर्ने महसुस भयो । जसले पनि ‘तपाईंको स्वरमा कुन गीत रेकर्ड भएको छ ?’ भनेर सोधेपछि लगत्तै नेपाल आएर गीत रेकर्ड गराउन थालेकी हुँ ।
तपाईंको स्वरमा रेकर्ड भएका कुनै गीत पनि फ्लप भएका छैनन् । रहस्य के होला ?
म नयाँ पुस्ताले रुचाउने खालका गीत धेरै गाउँछु । मेरो स्वरमा त्यस्तै गीत राम्रा सुनिन्छन् रे । एउटा दुःखको भाव समेटिएको गीत पनि गाएकी थिएँ । दर्शकले रुचाएनन् ।

थप पढ्नुहोस्:

प्रेमले अंग–प्रत्यंग हेर्दैन-रेखा थापा

महिलाले हामीलाई ‘युज’ गर्न खोज्छन् – शंकर विसी

Comments