अप्सरा भन्छिन्, ‘जिस्काउने त केटाहरुको बानी नै हो’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७१, २८ कार्तिक शुक्रबार
no img

‘कसम खाएर…’ बोल गीतको म्युजिक भिडियो केही समययता विभिन्न टेलिभिजन च्यानलमा चर्चामा छ । यो गीतका गायिका हुन् अप्सरा घिमिरे । अप्सरा केही समययता गायन क्षेत्रमा करिअर खोज्दैछिन् । लक्ष्य प्राप्ती गर्नलाई संघर्ष र मिहिनेत त चाहिँछ नै, त्यसमाथि अनावश्यक झन्झट पनि यसैबेला आइपर्छ । यो कुरा अप्सराले बुझेकी छन् । र, केही भोगेकी पनि । ‘मनसुन’ नामक सोलो एल्बम निकालेर सांगीतिक क्षेत्रमा पाइला चालेकी अप्सरा यस क्षेत्रमा आएको धेरै भएको छैन । ‘म आफ्नो मिहिनेत र परिश्रमले गायनमा स्थापित हुन चाहन्छु’ अप्सरा भन्छिन्, ‘यहाँ अनेक किसिमका मान्छे भेटिन्छन्, र प्रलोभन दिन्छन् । ती सबै मेरा लागि मतलव छैन । म आफ्नै प्रतिभाले अगाडि बढ्न चाहन्छु ।’ संगीतकै विषय लिएर गायनमा संघर्षरत गायिका अप्सरासँग एमपी सुब्बाले गरेको कुराकानी ।

apsara

अप्सरा घिमिरे, गायिका

खुबै दौडधुपमा हुनुहुन्छ । नयाँ के गर्दै हुनुहुन्छ ?
यस्तै हो मेरो दौडधुप । बिहान कलेज, दिउँसो संगीत सिक्न जान्छु । अनि बाँकी समयमा एल्बम ‘मनसुन’ मो प्रमोसनलाई दिएकी छु । केही नयाँ गीत पनि रेकर्डिङ गर्ने क्रममा छु ।
‘मनसुन’ को रिर्पोट कस्तो पाइरहनुभएको छ ?
बिहान उठेदेखि साँझसम्म ब्यस्तको ब्यस्तै हुन्छु । आफैले गीत सुन्न र हेर्न पाएको छैन । तर, जतिले मेरो गीत सुने र हेरेका छन् । उहाँहरुबाट एकदमै राम्रो प्रतिक्रिया पाइरहेकी छु ।
तपाईंको दैनिक रुटिङ कहाँबाट सुरु हुन्छ ?
बिहान उठ्नेवित्तिकै रियाज गर्छु । त्यसपछि खाना खाएर कलेज जान्छु । घरमा खाना पनि आफै पकाउँछु । सिर्जना आर्ट एन्ड फाइनान्स कलेजमा संगीतकै विषय लिएर पढ्दैछु । दिउँसो ५ बजे कालिकास्थानमा संगीत सिक्न जान्छु । यतिकैमा समय वित्तेको पत्तै हुन्न । साथीभाईलाई भेट्ने समयसमेत कहिले त हुन्न
के लागि यति धेरै खट्नुभएको नि ?
मेरो उद्देश्य पूरा गर्न । मैले सानैदेखि कुसल गायिका बन्ने सपना लिएकी थिएँ । त्यही सपना पूरा गर्न उदयपुरदेखि काठमाडौं आएकी हुँ । म संघर्ष र मिहिनेत गर्नबाट डराउँदिनँ । जसरी हुन्छ एक कुसल गायिका बन्न चाहन्छु ।
काठमाडौं आउनुको कारण गायिका बन्नलाई नै हो त ?
हो, २०६८ सालमा म यहाँ आएकी हुँ । मेरो बाबा पनि म राम्रो कलाकार भएको देख्न चाहनुहुन्छ । काठमाडौं आएदेखि नै बाबाले छोरी टिभीमा कहिले आउँछौं भनेर सोधिरहनु हुन्थ्यो । अहिले त्यो कम भएको छ । बाबाको इच्छा पूरा गर्न एउटा फिल्ममा अभिनयसमेत गरेँ । तर, अबचाहिँ अभिनय गर्दिनँ ।
रुपरंगमा कुनै हिरोइनभन्दा कम हुनुहुन्न । फिल्ममा काम गरेपनि  त हुन्छ ?
अँह, मलाई फिल्ममा अभिनय गर्ने रुचि छैन । बाबाले मलाई टिभीमा हेर्ने साह्रै रहर देखाउनुभयो, त्यसैले मात्र ‘वार’ भन्ने फिल्ममा काम गरेकी हुँ ।
संघर्षको क्रममा हुनुहुन्छ । यहाँसम्म आउँदा आफूले भोगेका केही तिता–मिठा कुरा सुनाउनु मिल्छ ?
केही तिता अनुभव पनि भोगेकी छु । तर, त्यो म मिडियामा खुलाउन चाहन्न । यो क्षेत्र नै यस्तै हो भनेर मनमै राख्न चाहन्छु । मिठो भनेको यही हो, अहिले मेरा गीतहरु श्रोताले मनपराइदिएका छन् । यसमा म खुसी छु ।
एल्बम बजारमा पठाएर संगीत पनि सिक्दै हुनुहुन्छ । अहिलेसम्म संगीतलाई कसरी बुझनुभयो ?
मैले एल्बम निकाल्नुअघि केही चलचित्रमा गाएकी थिएँ । त्यो मेरो गड गिफ्ट हो । एल्बम निकाल्न सुरु गरेपछि सिक्न थालेकी हुँ । जे होस् सिकेपछि केही त जानिन्छ नै । विशेषगरी सुरताल सिकें । विस्तारै अरु पनि सिक्दैछु ।
तपाईको उमेर त साथीभाई/ब्वायफ्रेन्ड बनाएर घुम्ने र रमाइलो गर्ने समय हो नि ?
हो, तर, मलाई रमाइलो गर्नतिर ध्यान छैन । मैले आफ्नो उद्देश्य प्राप्ती गर्नु छ । अर्को कुरा यस क्षेत्र आफैमा घुमफिरजस्तो लाग्छ कहिले कसलाई भेट्यो, कहिले कसलाई । दिनभर भेटघाटजस्तै भइरहेको हुन्छ । मैले टिनएजमा समेत रमाइलो गरिनँ ।
राम्री हुनुहुन्छ, तैमाथि गायिका पनि । केटाहरु त खुबै पछि लाग्छन् होला नि ?
केटाहरु त स्कुल पढ्दैदेखि मेरो पछाडि लाग्थे । तर, मलाई कसैको वास्ता गरिनँ । केटी जिस्काउने त केटाहरुको बानी नै हो नि । सुरुमा इम्प्रेसनमा पार्नलाई मलाई तिम्रो बानी बेहोरा मनप¥यो भन्दै प्रेम प्रस्ताव राख्छन् । तर, अहिलेसम्म मलाई कसैले इम्प्रेसनमा पार्न सकेका छैनन् । सायद मैले त्यतातिर ध्यान नदिएर पनि होला ।
केटाप्रति यति धेरै अविश्वास किन नि ?
विश्वास नै नगरेको होइन, कतिको कुरा विश्वास गर्ने ? अर्को कुरा यहाँ म प्रेम गर्नलाई होइन । गीतसंगीत क्षेत्रमा केही गरौं भनेर आएकी हुँ । भविष्यको कुरा भविष्यमै हुन्छ ।

Comments