हल भाडा बुझाउन नसक्दा भएन डिजाइनर कन्टेस्ट !
screennepal
प्रकाशित: २०७१, २५ भाद्र बुधबार
no img
IMG_7375

कार्यक्रमका लागि सजाइएको स्टेज

काठमाडौं । दरबारमार्गस्थित पाँचतारे होटल अन्नपूर्ण परिसर मंगलबार साँझ फेसनमय बन्दैथियो । होटलको कुमारी हलमा आकर्षक स्टेज सजाइएको थियो, जहाँ २२ जना डिजाइनर कन्टेस्ट -याम्प नाप्ने तयारीमा थिए । आमन्त्रित पाहुना, सेलिब्रेटी तथा टिकट काट्नेहरु गेटबाट छिर्नेक्रम बढ्दैथियो । केही नेपाली फिल्मका हिरोइन पनि पुगेका थिए । फेसन र संगीतको रौकनतासँगै डिनरमा रमाउने उद्देश्यले त्यहाँ पुगेकाहरुको सपना केही क्षणकै चक्नाचुर भयो । आयोजकले हल भाडावापत रकम बुझाउन नसक्दा होटल अन्नपूर्णले कार्यक्रम गर्न दिएन । र, सम्पूर्ण तयारी भइसकेको ‘डिई डिजाइनर अफ द इयर–२०१४’ स्थगित भयो । कार्यक्रम स्थगित भएपछि शानका साथ होटल अन्नपूर्ण पुगेकाहरु राति ८/९ बजेतिर तितरबित्तर भए ।

IMG_7369

गायक नविन के भट्टराई स्टेजमा गाउने तयारी गर्दै ।

कार्यक्रम फेसन एट एमजेकेले गर्न लागेको थियो । तर, उसले कार्यक्रम अगाडि हलवापत सबै रकम भूक्तान गर्न नसक्दा सम्पूर्ण तयारी भइसकेको कार्यक्रम रोकिएको हो । स्क्रीन नेपालको भरपर्दो स्रोतका अनुसार २ लाख ५० हजार रुपैयाँमध्ये एक लाख रुपैयाँ अगाडि नै आयोजकले होटललाई बुझाइसकेको थियो । तर, होटलले भने पहिल्यै सबै पैसा मागेको थियो । सकेसम्म कुरा मिलाएर कार्यक्रम गर्ने आयोजकको प्रयाससमेत असफल भएको थियो । आयोजकले बुधबार बाँकी पैसा बुझाउँछौ, बाइकको साँचो राख्नु भन्दासमेत होटलले नमानेपछि अन्ततः कार्यक्रमै भएन । कार्यक्रममा २२ जना डिजाइनर पार्टिसिपेन्ट थिए । उनीहरुले एक जना बराबर ५५ सय रुपैयाँ बुझाएका थिए । एक पार्टिसिपेन्टले स्क्रीन नेपालसँग भने, ‘प्रायोजक पनि रामै्र थियो । तर, के कारण यस्तो भयो, थाहै छैन ।’ कार्यक्रममा पप गायक नविन के भट्टराईको लाइभ सो थियो । तर, होटलले स्थान नदिएपछि नविनले एउटा गीत गाएर निस्केका थिए । सर्वसाधारणका लागि १ हजार र २५ सय रुपैयाँको टिकट व्यवस्था गरिएको थियो ।

Comments