सिए सकाएपछि फिल्ममा होमिए सञ्जोग
screennepal
प्रकाशित: २०७१, ७ भाद्र शनिबार
no img

काठमाडौं । नेपाली फिल्म क्षेत्र धेरैका लागि करिअरभन्दा बढी रहर हो । त्यसैले अन्यत्र राम्रो संभावना भएकाहरू यो क्षेत्रमा आउने प्रयास गर्दैनन् । तर, चार्टर्ड एकाउन्टेन्ट जस्तो प्रशस्त संभावना भएको विषय पढेर पनि फिल्म निर्माण÷अभिनयमा करिअर बनाउन आइपुगेका छन्, सञ्जोग कोइराला ।

sanjog

सञ्जोग कोइराला

आमाको इच्छा, बुवाको पेशा र आफ्नै रहरको अन्तर्घुलन भएपछि सञ्जोगले पढाइ सकिनेबित्तिकै फिल्म निर्माण÷अभिनय थालेका हुन् । जवान भएर नेपाली दर्शकमाझ आउन लागेका सञ्जोग यसअघि फिल्म ‘छोरीबुहारी’ ‘जूनतारा’ र ‘परदेशी’मा बालकलाकारको भूमिकामा देखिइसकेका छन् ।‘जूनतारा’, ‘एक नं पाखे’, ‘कुरुक्षेत्र’, ‘मुग्लान’जस्ता फिल्मका निर्माता शेखर कोइरालाका सन्तान हुन् सञ्जोग । सञ्जोगकी आमालाई ‘छोरा हिरो’ भएको हेर्ने चाहना थियो र फिल्मसँग हुर्किएका सञ्जोगलाई उहिल्यैदेखि यही पेशामा आबद्ध हुने रहर थियो । तर, फिल्म निर्माता उनका बुवाचाहिँ पहिले उनको पढाइ सकियोस् भन्ने चाहन्थे ।

‘बुवाको इच्छा पढाइ सकियोस् भन्ने थियो, त्यो पूरा गर्नेबित्तिकै आमाको मलाई हिरोका रूपमा हेर्ने चाहना पूरा गर्न आइपुगेँ,’ सञ्जोगले भने । चार कक्षा पढ्दादेखि नै बुवाको पछि लागेर फिल्म निर्माणका सम्पूर्ण प्रक्रियामा उनले आफूलाई संलग्न गराएका थिए । ‘नेपालमा सुटिङ भ्याउनेदेखि मुम्बईमा गएर प्रिन्ट निकाल्ने कामसम्म बुवासँगै गएर सिकेको थिएँ । हाम्रो पेशा नै फिल्म निर्माण होला भनेर त्यतिबेला ध्यान दिएर काम सिक्थेँ,’ उनले सम्झिए ।
उनी लहैलहैमा आफू फिल्म अभिनेता नबनेको बताउँछन् । अभिनेता अनुप बरालसँग एक्टिङ क्लास, नृत्य प्रशिक्षक गम्भीर विष्टसँग डान्स र द्वन्द्व निर्देशक योगेन्द्र श्रेष्ठसँग फाइट सिकेका छन् उनले ।
अहिलेका चर्चित अभिनेता सौगात मल्ल, गौरव पहारी र अभिनेत्री प्रकति श्रेष्ठ र मेनुका प्रधानसँगै उनी पनि फिल्म ‘उत्सव’को मुख्य भूमिकामा छन् ।

 

Comments