गाइजात्रेकै गाइजात्राः ‘तितेजिरे–मेरीबास्सै’बाट किन छुटे शैलेन्द्र र मनोज ?
screennepal
प्रकाशित: २०७१, २३ श्रावण शुक्रबार
no img

काठमाडौं । हाँस्यब्यंग्य कलाकारले नेताहरु मिल्न नसकेको कुरालाई खुब ब्यंग्य गर्छन् । अरु सामाजिक विषयमाथि पनि उस्तै झटारो हुन्छ । अर्काको आङको जुम्रा देखाएर मात्रै हुँदैन, आफ्नै आङ भैसी पनि कहिलेकाहिँ देख्नुपर्छ ।
एका अर्कासँग टुट्दै गएर गुट–उपगुटमा सिमित हाँस्य कलाकारहरुको टोली यो गाइजात्रामा फेरि टुटेको छ । केही वर्षसम्म प्रज्ञा भवनमा हुने ‘तितेजिरे–मेरी बास्सै’ गाइजात्रामा सहकार्य गरेका दुईजना मनोज गजुरेल र हाँस्य कवि शैलेन्द्र सिंखडा यसपटक त्यो समूहबाट अलग्गीएका छन् ।
अघिल्लो वर्षको गाइजात्रामा एकआपसमा भएको इगो प्रब्लमले उनीहरुलाई छुटाएको बताइएको छ । प्रज्ञा प्रष्ठिानकका जागीरे शैलेन्द्र त्यो समूहबाट अलग्गिदा तितेजिरे–मेरी बास्सैको समूहलाई भृकुटी मण्डपमा डेरा सर्नु परेको छ । मनोज र शैलेन्द्रले यसअघि भृकुटी मण्डपको राष्ट्रिय सभागृहमा कार्यक्रम गर्दै आएका हाँस्य कलाकारलाई प्रज्ञाप्रतिष्ठानमा ल्याएका छन् ।

manojdeepak

मनोज गजुरेल र दिपकराज गिरी

गाइजात्रा कार्यक्रम दुवै ठाउँ शनिवारबाट शुरु हुँदैछ । गाईजात्राको अवसरमा हास्य कलाकारहरूले दुई ठाउँमा हास्यव्यंग्य प्रस्तुत गर्ने भएका छन् । ‘यसपालिको गाईजात्रा, भृकुटीमण्डपमा मात्र’ भनेर ‘तीतो सत्य’, मेरी बास्सै’ र ‘जिरे खुर्सानी’ का कलाकार भृकुटीमण्डपमा प्रहसन पस्किँदै छन् । त्यसैगरी मनोज गजुरेल, शैलेन्द्र सिम्खडा, दमन रूपाखेती लगायतको टोली प्रज्ञा भवन कमलादीमा दर्शक हँसाउने तयारी गरिरहेका छन् ।

भृकुटीमण्डपमा ‘छोडपत्र कि अलपत्र’ प्रहसन लिएर दीपक गिरी, दीपाश्री निरौला, रवि डंगोल ‘बेइमान’, पूर्ण थापा ‘सुब्बासाप’, आरबी भट्टराई ‘लाजालाम’ र राजन थापा उपस्थित हुनेछन् । त्यसैगरी ‘फाइभस्टार सार्वजनिक शौचालय’ शीर्षकमा सीताराम कट्टेल, कुञ्जना घिमिरे, सुरवीर पण्डित, सुरज चापागाईं ‘बान्द्रे’ र मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’ले प्रहसन तयार पारेका छन् ।
‘जिरे खुर्सानी’ समूहका जितु नेपाल, किरण केसी, शिवहरि पौड्याल, राजाराम पौड्याल, देवीराम पराजुली, शिवहरि वैरागी र मनोज आचार्यले पनि भृकुटीमण्डपमै हँसाउनेछन् । गायक टीका भण्डारी र मनीष श्रेष्ठले प्यारोडी गीत प्रस्तुत गर्ने बताइएको छ । उक्त कार्यक्रमको संयोजन कारोबार मिडियाले गर्दै छ । भृकुटीमण्डपमा गर्ने भएकाले यसपटक फुडस्टल र बालबालिकाका लागि प्लेस्पटको समेत व्यवस्था गरिएको बताइएको छ ।

हास्य कलाकारको अर्काे समूहले नेपाल प्रज्ञा प्रतिष्ठानको कमलादीमा ‘गाईजात्रा महोत्सव २०७१’ मार्फत हँसाउदै छ । ओरिएन्टल इभेन्ट्स प्रालिले गर्ने उक्त कार्यक्रममा हास्यकवि शैलेन्द्र सिंखडा र कलाकार मनोज गजुरेलले प्रस्तुति दिनेछन् । कमल गाउँलेले उनीहरूलाई साथ दिने छन् भने गायिका इन्दिरा जोशीले गीत गाउने छिन् । त्यस्तै, नृत्यांगना पार्वती राईले नृत्य प्रस्तुत गर्ने छिन् ।
त्यसैगरी, लोकप्रिय टेलिसिरियलका कलाकारहरूले प्रहसन प्रस्तुत गर्नेछन् । कार्यक्रम साउन २३ गतेदेखि भदौ ७ गतेसम्म हुने ओरिएन्टल इभेन्ट्सले जानकारी दिएको छ ।

 

Comments