तेह्र वर्षमैँ ‘पोइला जान्छे’ भन्थे–सुमी चाम्लिङ राई
screennepal
प्रकाशित: २०७१, १९ श्रावण सोमबार
no img

IMG_9727 copyसुमी चाम्लिङ राई\गायिका

तपाईंको दोस्रो एल्बम ‘जबसम्म’बाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?
धेरैले गीत राम्रो छ भन्नुभएको छ । एफएमका काउन्टडाउनमा पनि अग्रपंक्तिमा रहेको छ । अघिल्लो एल्बमजस्तै भयो भने त यो क्षेत्रबाटै पलायन हुनुपर्ने अवस्था थियो । परिवारले ‘लास्ट चान्स’ भनेको थियो, तर अहिले सबै खुशी हुनुहुन्छ ।

अघिल्लो एल्बममा निकै क्षति व्यहोरियो कि क्या हो ?

संगीत क्षेत्रमा नयाँ भएका कारण धेरैले ठगे । १५ लाख रुपैयाँ खर्चिंदा पनि गीतदेखि म्युजिक भिडियोसम्म क्वालिटीको आएन । त्यसैले बाबा र दाइले यो क्षेत्र छाडेर विदेशतिरै आइज भन्न थाल्नुभएको थियो ।

जे होस्, अब विदेशिनु नपर्ने भयो ?
यो एल्बमबाट संगीत क्षेत्रमै भविष्य खोज्न सकिने आशा जागेको छ । पहिलोजस्तो विदेश जान परिवारले कर गरिरहेको पनि छैन । आमाले सपोर्ट गर्न थाल्नुभएको छ । बुवा पनि खुशी नै हुनुहुन्छ ।
अघिल्लो एल्बम लोकगीतको थियो । अहिले सुगम संगीततिर ढल्किनुभएछ ?
पहिलोचोटि संगीत क्षेत्रमा आउँदा कस्ता गीत मेरो स्वरमा फिट हुन्छन् वा कस्ता गाउनुपर्छ भन्ने ज्ञान थिएन । अरूले ‘राम्रो’ भनेकै पछि लागियो । अहिले आएर सुगम संगीतमा पनि राम्रो गर्न सक्छु जस्तो लागेर यस्ता गीत गाएकी हुँ ।
संगीत सिक्नुभएको छ ?
पहिले लुकीछिपी अलिअलि सिकेकी थिएँ । अहिले भने वेस्टर्न म्युजिक सिकिरहेकी छु । बढी चाहिँ सेल्फ स्टडी नै हो ।
लुकीछिपी सिक्नुपर्ने बाध्यता कसरी आयो ?
परिवारका सबैले पढाइलाई नै बढी ध्यान देओस् भन्ने चाहनुहुन्थ्यो । पढ्नकै लागि खोटाङबाट काठमाडौँ आएकी थिएँ । तर, मेरो सानैदेखि गायनमा लगाव थियो । दिदीसँग बस्ने भएकाले संगीत सिक्न नदिने हुनाले लुकेर संगीत सिकेकी थिएँ ।
पछि थाहा पाएनन् ?
दिदीले थाहा पाउनुभयो । संगीत सिक्न नमिल्ने ठाउँमा होस्टेल खोजेर पठाइदिन पनि खोज्नुभएको थियो ।
गीतसंगीत क्षेत्रप्रति चाहिँ कहिलेदेखि आकर्षित हुनुभएको हो ?
सानैदेखि गीत गाउने भएर होला, मेरो नामै ‘गीतांगिनी नक्कली’ राखिदिएका थिए गाउँलेले । काकाले आमालाई होच्याएर ‘१३ वर्षकै उमेरमा पोइल जान्छे’ भन्ने कुरा मनमा गढेको थियो । सानै उमेरमा गीत गाउने मान्छे हेर्नका लागि नयाँ रेडियो बारीको कुनामा लिएर फुटाउँदा दाइको कुटाइ भेटेको अझै याद छ ।
रियाज कति बेला गर्नुहुन्छ ?
पहिले बिहान–बेलुका मात्रै गर्थें । अहिले फुर्सद मिल्यो कि गरिहाल्छु ।
कस्ता गीत गाउन बढी रुचि छ ?
भर्सटायल गायिका बन्ने रहर छ ।
म्युजिक क्षेत्रमा जम्नका लागि के–के चाहिने रहेछ ?
संगीत क्षेत्रमा जम्नका लागि पैसा र स्वरले मात्रै पुग्ने रहेनछ । हामी राजनीतिलाई गाली गर्छाैं, त्यो भन्दा ठूलो राजनीति संगीत क्षेत्रमा छ । त्यो पनि जान्नुपर्छ ।
तपाईंले जान्नुभयो त त्यो राजनीति ?
नजानेरै पहिलो एल्बममा नराम्ररी डुबेँ । अहिले अलि–अलि सिक्दै छु ।

Comments