अनौठो प्रेम : ‘ध्रुवे’ले भगाए ‘तीर्थमान कली’लाई
screennepal
प्रकाशित: २०७५, २ बैशाख आईतवार
no img

चितवन, २ वैशाख । मानिसमा जस्तै विपरीत लिंगीप्रतिको आकर्षण वा प्रेम जंगली हात्तीमा पनि हुन्छ भन्ने कुरालाई पाँच वर्षअघि चर्चामा आएको धु्रवे हात्तीले देखाएको छ ।
पाँच वर्षअघि नेपाल–भारतका विभिन्न क्षेत्रमा १५ जनाको ज्यान लिएको ‘ध्रुवे’ले अहिले सुखीभार पोष्ट आसपासमा देखिन थालेपछि त्यहाँ कार्यरत कर्मचारी तथा सेना त्रसित छन् ।
चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसराबाट ‘टाइगर टप्स’ जाने बाटोमा रहेको सुखीभार पोष्टमा निकुञ्ज सुरक्षार्थ राखिएको पोथी हात्ती ‘तीर्थमान कली’लाई ध्रुवेले आइतबार बिहान २ः४० बजे साङ्लो चुडाएर जंगलतर्फ लगेको छ ।
सोही पोष्टमा हात्ती हेर्दै आएका रामकुमार चौधरीका अनुसार ध्रुवे हात्तीले तीर्थमान कलीसँगै बाँधिएको भाले हात्ती ‘पारस गज’लाई दाह्राले हानेर सामान्य घाइते बनाएको छ । चौधरीले भने, ‘राति ध्रुवे आएर पारस गजलाई हान्यो, तीर्थमान कलीको साङ्लो चुडाएर जंगलतर्फ लग्यो ।’ पोष्ट नजिकै तीर्थमान कलीसँगै ध्रुवे रहेको उनले दावी गरे ।
दुई दिनअघि रासन कोठाको झ्याल पनि फोरेको छ । एक महिना अघिदेखि सो क्षेत्रमा ध्रुवे हात्ती रहेको उनले बताए । चौधरीका अनुसार सबैलाई हात्तीले त्रसित बनाएको छ ।
सोही क्षेत्रमा पर्यटक घुमाउन सौराहाबाट शनिबार पुगेका जीप चालक गौरीराम विश्वकर्मालाई ध्रुवे हात्तीले लखेटेको थियो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले प्राविधिक, गाइड, हात्तीसारका कर्मचारी सबैले अहिले देखिएको हात्ती ध्रुवे भएको जनाएको बताए । गत साता शुक्रनगर क्षेत्रको मानव वस्तीमा पसेपछि लखेटेर जंगलतर्फ धपाएको उनले बताए । ध्रुवे हात्तीले यतिबेला खासै बितण्डा नमच्चाएको भन्दै उनले सामान्य क्षतिबाहेक केही नगरेको बताए ।
सोही हात्तीले २०६६ देखि २०६९ सालसम्म नेपाल र भारतमा गरेर १५ जनाको ज्यान लिएको निकुञ्जका अधिकारीले जनाएका छन् । २०६६ सालमा एक जना, २०६७ सालमा तीन, २०६८ सालमा एक र २०६९ सालमा १० जना सर्वसाधारणको ज्यान लिएको थियो । जसमध्ये चितवनको माडीमा छ, मेघौलीमा दुई, कसरामा एक, बाराको रुपही र कोवीमा चार तथा भारतमा दुई जनाको ज्यान लिएको बताइएको छ । ध्रुवेले ५० भन्दा बढी घर नष्ट गरेको थियो । (RSS)

Comments