काठमाडौं, २१ जेठ । ‘मिस मंगोल नेपाल–२०१७’ का सहभागीले शनिबार राजधानीमा ‘मिस ट्यालेन्ट’ उपाधिका लागि आ–आफ्नो प्रतिभा देखाए । प्रतियोगीले नृत्य, गीत, पेन्टिङ, विचार अभिव्यक्ति, बाद्यवादन, अभिनय, क्यारिकेचर प्रदर्शन गरेका थिए ।
एक्सन इन्टरटेनमेन्टद्धारा आयोजित यस सौन्दर्य प्रतियोगिता आफ्नो पालो आएपछि स्टेजमा पुगिन् धरान निवासी जेन लिम्बु । गीत गुन्जियो, ‘राम्री पनि भाकी छु ।’ गीतको तालमा उनी छमछमाउन थालिन् । त्यही प्रतियोगीता, स्टेज अनि गीतमा दुई वर्षअघि त्यही उपाधीका लागि डा. निमा पुन नाचेकी थिइन् । दुई वर्षअघि उनी प्रतियोगी थिइन भने यसपटक निर्णायक ।
प्रतियोगीतामा जेनका साथै सोफिया महर्जन, दुर्गा थापामगर, मिना लामा, निशा राई, सुरक्षा जवेगु, कन्चन योञ्जन, खुसी मगर, केट्रिन कुलुङ, नेहा खड्गीले नृत्य गरेका थिए । त्यसैगरी प्रेमकला राई, अरिना राई, रेनुका लामा, महिना राई, सल्मा पुन, हाङमा निङलेखु, रेभा सुनुवार र करुना पुनले पनि नृत्य नै प्रस्तुत गरेका थिए ।
कार्यक्रममा मिना लामा र निशा लिम्बुले पेन्टिङ, अनिता लामा र रेश्मा मोत्तानले गीत गायन, सुविक्षा मगर, प्रिया राजभण्डारी र सारदा थापाले विचार अभिव्यक्ति एवं भुमिका थापा र तृष्णा लामाको नाट्य प्रस्तुति रहेको थियो ।
प्रतियोगीको प्रस्तुतीलाई चलचित्र सम्पादक नरेन्द्र खड्का, कलाकार उत्तम केसी, सञ्चारकर्मी डब्बु क्षेत्री, संगीतकार शान्तिराम राई, म्युजिक भिडियो निर्देशक विज्ञान राई र मिस मंगोल नेपाल २०१५ डा. निमा पुनले मुल्यांकन गरेका थिए ।
मिस मंगोल नेपालको यो नवौं संस्करण हो । यस संस्करणमा शीरमा ताज सजाउने सपनासहित विभिन्न १७ जिल्लाका ३० प्रतियोगी अन्तिम प्रतिष्पर्धामा उत्रिएका छन् । प्रतियोगीतको अन्तिम प्रतिष्पर्धा जेठ २७ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदैछ ।