काठमाडौं । स्टार वन इन्टरटेनमेन्टले सौन्दर्य प्रतियोगिता ‘मिस ग्लोब इन्टरनेशनल नेपाल–२०१५’ आयोजना गर्ने भएको छ । आयोजक संस्थाकी अध्यक्ष पूजा निरौलाका अनुसार नेपालका विभिन्न स्थानमा बसाई भए पनि हाल राजधानीमा बसोबास गर्दै आएका युवतीको आन्तरिक क्षमता प्रदर्शन गर्ने थलोका रुपमा ‘मिस ग्लोब इन्टरनेशनल नेपाल’ आयोजना गर्न लागिएको हो । उनका अनुसार विभिन्न विषय र विधामा २५ दिन लामो प्रशिक्षण दिएपछि प्रतिस्पर्धीलाई प्रतियोगितामा उतारिने छ । प्रतियोगितामा सामेल युवतीहरुलाई हाल बानेश्वरस्थित होटल रानी महलमा प्रशिक्षण दिँदै आइएको छ ।
अश्विनी झाको कोरियोग्राफीमा हुने प्रतियोगिताका सहभागीलाई मास फेसिङ, ग्रुमिङ, फेशन कोरियोग्राफी, डान्स, मेकअप, लिडरसिप, पर्सनालिटीलगायतका विषयमा प्रशिक्षण दिइने निरौलाले बताइन् । प्रतियोगितामा दीक्षा गुरुङ, रक्षा रेग्मी, मोनालिशा धिमाल, सिर्जना डंगोल, सजना घिसिङ, अम्बिका चौधरी, सिलु पोखरेल, प्रिना तिवारी, सजनी श्रेष्ठ, कुसुम गुरुङ, मनिषा घिसिङ, भावना राई, अष्मिता श्रेष्ठ, जेनिता थापा, रोजिता कुँवर, दीमा शाही र दीपीका ठकुरीले स्पर्धा गर्दैछन् । प्रतियोगिताको अन्तिम फाइनल यसै महिनाको दोस्रो साता राजधानीमा हुनेछ ।