चर्चामा भीम लिम्बूको ‘खुल्यो है खुल्यो’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०८१, १३ असार बुधबार
no img

काठमाडौं । गायक भीम लिम्बू सेनेहाङ आफ्नो नयाँ गीतको भिडियो लिएर दर्शक तथा श्रोतामाझ आएका छन् । हालैमात्र ‘मिन्जिमा ए’ बोलको पालम ल्याएर चर्चामा रहेका भीमले अहिले लोकशैलीको ‘खुल्यो है खुल्यो’ बोल गीतको भिडियो सार्वजनिक गरेका हुन् । गीत सार्वनिक भएसँगै चर्चामा आएको छ ।

गायक भीम लिम्बूको अफिसियल युट्युब च्यानल ‘भीम लिम्बू’मार्फत सार्वजनिक गरिएको यस भिडियोलाई हङकङमा छायाँकन गरिएको हो । हङकङलाई कर्मथलो बनाउँदै आएको निर्देशक युगल पोमूले निर्देशन गरेका यस भिडियोमा कृष्ण सेनेहाङ, विशाल सेनेहाङ, जेनिफर लिम्बू र रेश्मा साम्पाङ राईको अभिनय रहेको छ ।

नृत्यपरक भिडियो निर्देशन गर्दै आएका युगल पोमूले यस गीतको फेमिली रोमान्सशैलीमा निर्माण गरेका छन् । भिडियोमा लिम्बू समुदायको संस्कृति झल्काउनुका साथै युवापुस्ताको रोमान्टिक जीवनशैलीलाई चित्रण गर्न खोजिएको छ ।

दर्शक तथा श्रोताले टपक्क टिप्न सक्ने लोकशैलीको यस गीतको संगीत चर्चित संगीतकार ताराप्रकाश लिम्बूले गरेका हुन् भने शब्दरचना बरिष्ठ गीतकार डा कृष्णहरि बरालको रहेको छ । मज्जाको राईको छायाँकन र अनिलकुमार महर्जनको सम्पादन रहेको यस भिडियोका लागि डान्स कोरियोग्राफी सुक सामेखाम लिम्बूले गरेका हुन् ।

गायक भीमले आफ्नो पछिल्लो यस गीतबाट निकै आशावादी रहेको बताए । विशेषगरी पूर्वेलीका गीतका लागि चर्चित भीमले भने, ‘यसअघिका गीतहरुभन्दा यो केही फरक छ । दर्शक तथा श्रोताले पनि त्यो पक्कै महशुस गर्ने छन् ।’

गायक भीमका ‘धानै नाचिन्छ’, ‘माया मेरो झुटो रे’, ‘हाते काटेर’, ‘फेसबुकैले’लगायतका गीत चर्चित छन् । हालैमात्र सार्वजनिक लिम्बू संस्कृतिमूलक पालम ‘मिन्जिमा ए’ पनि अहिले चर्चामा छ । यसैबेला भीम ‘खुल्यो है खुल्यो’ गीतको भिडियो लिएर आएका हुन् ।

Comments