अञ्जनाको मोडलिङ यात्रा : ‘मिस मगर हङकङ’देखि ‘मिस नेपाल’को दौडसम्म
screennepal
प्रकाशित: २०८१, १२ असार मंगलवार
no img

काठमाडौं । ‘मिस हङकङ नेपाल–२०२३’की विजेता अञ्जना पुन अहिले नेपालमा छिन् । अब उनी ‘मिस नेपाल’को ताज पहिरिन चाहन्छिन् । मोडलिङप्रति समेत रुची राख्दै आएकी अञ्जना आफ्नो सपना पूरा गर्न ‘मिस नेपाल–२०२४’मा सहभागी हुन हङकङदेखि जन्मभूमि आएकी हुन् ।

देशकै बृहत सौन्दर्य प्रतियोगिता मानिने ‘मिस नेपाल’को ३०औँ संस्करण अर्थात ‘मिस नेपाल–२०२४’मा २६ युवती प्रतिस्पर्धामा उत्रिएका छन् । तीमध्ये एक प्रतिस्पर्धी हुन् अञ्जना पुन मगर ।

‘मिस नेपाल’को यस संस्करण अञ्जना बलियो दावेदार देखिएकी छन् । त्यसो त सौन्दर्य प्रतियोगिता या रियालिटी शोहरुमा कसले उपाधि जित्छ भन्ने अनुमान गर्न सकिँदैन । तैपनि, प्रतिस्पर्धीको अनुभव र उ प्रतिको कला र लगावलाई मूल्याँकन गरेर आकलन भने गर्न सकिन्छ ।

पोखरामा जन्मेर हङकङमा हुर्किबढेकी अञ्जना सानैदेखि मोडलिङ र सौन्दर्य प्रतियोगिताप्रति रुची र लगाव राख्थिन् । ‘मिस मगर हङकङ–२०१४’ विजेतासमेत रहेकी अञ्जनाले नेपाल र हङकङमा ठूल्ठूला व्यवसायिक फेसन शोहरुमा सहभागी भएर मोडलिङ र मिडियाप्रति अनुभव संगालेकी छन् ।

साथै, अञ्जना समाजसेवाको क्षेत्रमा पनि अनुभव बटुलेकी छन् । अञ्जनाले लागुऔषध रोकथामका लागि एक गैरसरकारी संस्थामा २ वर्ष पियर एजुकेटरको रूपमा काम गरेकी छन् । यस्तै, उनीसँग ५ वर्ष बालबालिका र युवालाई शैक्षिक, भावनात्मक, शारीरिक र मानसिक रूपमा पालनपोषण गर्ने शिक्षक सहायकको रूपमा काम गरेको अनुभव छ । उनी भन्छिन्, ‘समाजसेवा पनि मेरो रुची र इच्छाको विषय हो ।’

केही म्युजिक भिडियोमा समेत मोडलिङ गरिसकेकी अञ्जनाले ‘काइरा बुटिक फेसन शो–२०१५’, ‘हन्ट फर सुपर मोडल–२०१५’ हङकङ, ‘टीजीआईफ नेपाल फेसन विक–२०१७’लगायत नेपाल र हङकङमा विभिन्न ¥याम्प शो र रन–वेमा कला प्रस्तुत गरिसकेकी छन् ।

तर, अञ्जनाको एउटै लक्ष्य हो, ‘मिस नेपाल बन्ने । उनी भन्छिन्, ‘मिस नेपालको ताज पहिरिनु मेरो एउटा सपना हो । त्यहि सपना पूरा गर्ने अभिलाषासहित मिस नेपालमा पाटिसिपेन्ट भएकी हुँ ।’

आयोजक संस्था हिडेन ट्रेजरका अनुसार ‘मिस नेपाल वल्र्ड–२०२४’को ग्राण्ड फिनाले आगामी भदौ २१ गते हुनेछ । हाल प्रतियोगीहरु क्याटवाकलगायत आत्मविकास सम्बन्धी विभिन्न गु्रमिङ सेशनमा व्यस्त छन् । प्रतिस्पर्धीका लागि भोटिङ समेत खुला भइसकेको छ । प्रतिस्पर्धीका लागि कला र प्रतिभाका अतिरिक्त भोटिङ पनि महत्वपूर्ण मानिन्छ । त्यसैले प्रतिस्पर्धीहरु आफूलाई जिताउ भोटिङ गर्न आग्रह गरिरहेका छन् ।

प्रतियोगिता नम्बर ९ की अञ्जनाले आफूलाई भोट दिएर जिताउन आग्रह गरेकी छन् । मिस नेपालको ताज जितेको अवस्थामा प्रतियोगिताको गरिमा, कर्तव्य र जिम्मेवारी पूर्णरुपमा वहन गर्न आफू तयार रहेको उनी बताउँछिन् । हङकङलाई कर्मथलो बनाएपनि आफ्नो मन र तन नेपालको माटो र नेपालीप्रति झुकाव रहेको भन्दै उनले भनिन्, ‘मेरो कन्टेस्टेन्ट नम्बर ९ हो । मलाई भोट दिएर जिताउनु होला । जितलाई त्यसै खेर फाल्न चाहन्न । मिस नेपालले गर्नुपर्ने कर्तव्य र जिम्मेवारी वहन गर्दै नेपाल र नेपालीका लागि काम गर्ने प्रतिवद्धता यहाँहरु समक्ष गर्दछु ।’

Comments