निर्देशकविनै ‘हजार जुनीसम्म’को ट्रेलर रिलिज (ट्रेलरसहित)
screennepal
प्रकाशित: २०७६, १० श्रावण शुक्रबार
no img

आउँदो ३० साउनबाट प्रदर्शनमा आउने फिल्म ‘हजार जुनीसम्म’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको ट्रेलरमा फिल्मको कथासार देखाइएको छ ।
सार्वजनिक ट्रेलरमा फिल्मका अधिकांश कलाकार फिचर्ड छन् । आर्यन सिग्देललाई ट्रेलरमा दुई गेटअपमा देख्न सकिन्छ भने उनले ‘हजार जुनीसम्म’ पनि आफ्नो प्रेमलाई पर्खिएको विषयमा फिल्म केन्द्रित छ ।
ट्रेलरमा स्वस्तिमा खड्का, सलोन बस्नेत, संचिता लुइँटेल, शिवहरी पौडेल, अखिलेश प्रधान र अनुभव रेग्मी पनि फिचर्ड छन् । ‘नाई नभन्नु ल’ सिरिजका निर्देशक बिकासराज आचार्यको निर्देशनमा तयार फिल्मलाई प्रेमकथामा आधारित फ्यामिली ड्रामा भनिएको छ । निर्देशक आचार्यले फिल्मको पटकथा सामिप्यराज तिमल्सेनासँगको सहकार्यमा तयार पारेका हुन् ।
कार्यक्रममा सम्पूर्ण कलाकार उपस्थित भए पनि निर्देशक आचार्य भने उपस्थित थिएनन् । पछिल्लो समय अस्वस्थ भएपछि चिकित्सकको सल्लाहअनुसार उनी भिडभाडमा नदेखिएका े बतइएको छ । उनको प्रतिनिधित्व गर्दै पटकथाकार सामिप्यले यो पूर्ण रुपमा फ्याम्ली ड्रामा भएको बताए । ‘हामीले स्टारडमको आधारमा भन्दा पनि कथानुसार फिल्मको लागि कास्ट गरेका छौँ’ उनले भने । उनका अनुसार फिल्म पूर्ण रुपमा पारिवारिक छ र यसले हाम्रै वरपरको कथालाई वाचन गरेको छ ।

कार्यक्रममाउपस्थितआर्यनले यसले नेपालको सुन्दरतालाई पनि समेटेको बताए । ‘हामीले पोखराबाट सुरु गरेको छायाँकन सिक्किमसम्म पुगेको छ, त्यसैले यसले हाम्रो सुन्दरतालाई समेटेको छ’ उनले भने ‘यो फिल्मको रोल मैले गरिरहेको जस्तै भएपनि प्रस्तुतिकाहिसाबले फरक छ ।’ उनले आफुभन्दा २० वर्ष बढी उमेर देखिँदा केही कठिनाइ भएको बताए ।
यसैगरी स्वस्तिमाले पनि फिल्मले दर्शकको मन छुने दावी गरिन् । गत वर्षकी नेशनल अवार्ड विनर अभिनेत्रीले फिल्मले पारिवारिक कथालाई समेटेको बताइन् । यस्तै, सलोनले आर्यनको अभिनयले आफुलाई ज्यादै प्रभावित बनाएको बताए ।
यसै फिल्ममार्फत डेब्यु गर्न लागेका नवकलाकार अखिलेशले आफुले सक्दो मेहनत गरेको प्रस्ट्याए । चाइल्ड स्टार अनुभवले ‘नाई नभन्नु ल’ सिरिजभन्दा बाहिर रहेर काम गर्दा छुटै अनुभव भएको बताए ।
फिल्ममा कविराज गहतराजको नृत्य, उदय सोताङ, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ । यसमा विशाल चाम्लिङ निर्माता छन् ।

Comments