गायक तथा मोडल रुकमान लिम्बूले इजरायलमा बस्दै आएका नेपालीको मन जित्न सफल भएका छन् । सांगीतिक दौरानमा यो साता इजरायल पुगेका गायक रुकमानले त्यहाँ रहेका नेपालीहरुलाई आफूसँगै नचाए ।
किरात याक्थुङ चुम्लुङ इजरायलले चासोक तङ्नामको अवसरमा आयोजना गरेको सांगीतिक कार्यक्रममा प्रस्तुत भएका रुकमानले आफ्ना चर्चित तथा लोकप्रिय गीतहरु प्रस्तुत गरेर उपस्थित दर्शकलाई मनोरञ्जन दिएका थिए । गएको १४ डिसेम्बर अर्थात शुक्रबार इजरायलस्थित याद हरुत्सीममा आयोजित कार्यक्रममा रुकमानले आफ्नो चर्चित गीत ‘हाक्पारे पालम ख्याली’लगायत आफ्नो पछिल्लो सालैजो गीत प्रस्तुत गर्दा वाहवाही पाएका थिए ।
‘कार्यक्रम अत्यन्त राम्रो भयो’ इजरायलमा आफ्नो पहिलो प्रस्तुती दिएपछि अनलाइनमा कुरा गर्दै रुकमानले भने, ‘यहाँ आएर चासोक तङ्नाम निकै रमाइलो लागेको छ ।’ यसअघि हङकङलगायत विभिन्न देशमा आफ्नो प्रस्तुती दिइसकेका रुकमानको यो पहिलो इजरायल भ्रमण हो । तर, पहिलोपटक भएपनि उनी त्यहाँ रहेका नेपाली दर्शकको मनमा बस्न सफल भएका छन् ।
केही वर्षयता किरात याक्थुङ चुम्लुङ इजरायलले लिम्बू समुदायको विशेष पर्व चासोक तङ्नामको अवसरमा प्रत्येक वर्ष कल्चरल जगाउने सांस्कृतिक कार्यक्रम गर्दै आएको छ । यसैलाई निरन्तरता दिँदै आयोजना गरेको सांगीतिक कार्यक्रममा यसपटक रुकमासँगै नेपालबाट अर्को गायक जेपी नेम्बाङ इराजल पुगेका हुन् । गायक नेम्बाङले पनि आफ्ना नेपालीलगायत लिम्बू भाषाका गीत प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।