काठमाडौं । पत्रकार दिपेन्द्र लामा निर्देशित फिल्म ‘गोपी’को पहिलो ‘लक्ष्मी कहिले काली’ बोलको गीत रिलिज भएको छ । सार्वजनिक गीतमा साहित्यकार बुद्धिसागरको शब्द र अर्जुन पोखरेलको संगीतकार रहेको छ ।
यस गीतलाई संगीकार अर्जुनले आफ्ना पिता बाबुराम पोखरेलसँग मिलेर कम्पोज गरेका हुन् । जसलाई भजनशैलीमा गाइएको छ । यो गीत बजारमा चलिरहेका भन्दा फरक भएकाले दर्शकश्रोताबाट सकारात्मक प्रतिक्रिया पाउनेमा संगीतकार पोखरेल आशा गरेका छन् । ‘लोकगीतको लहर चलेको छ, यस्तो बेला मौलिक गीत तयार पार्न पक्कै सजिलो छैन्’ उनले भने, ‘तर यो गीत भाका, शब्द र वाद्यवादनका हिसाबले परिपक्व बनेको छ ।’
आरोही इन्टरटेनमेन्टका लागि आरोही केसीद्वारा निर्मित यो फिल्म १८ माघबाट प्रदर्शनमा आउँदैछ । फिल्मको कथाकै मागअनुसार गीत तयार पारिएको निर्देशक लामा बताउँछन् । उनले भने, ‘फिल्मका मुख्य पात्र हिन्दु र गाई पाल्ने भएकाले गीतमा उक्त आस्था झल्काउने प्रयास गरेका छौँं ।’
बुधबार रिलिज भएको गीतमा फिल्मका मुख्य कलाकार विपिन कार्की, वर्षा राउत, अंकित खड्का, भोला सापकोटालगायतले नृत्य गरेका छन् । वरिष्ठ नृत्यनिर्देशक गोविन्द राईले यही गीतमार्फत् लामो समयपछि औपचारिक रूपमा कोरियोग्राफीमा कमब्याक गरेका छन् । गीतमा राईले तीनवटा भजनटोली, सयजना भन्दा बढी वृद्धवृद्धा र ३२ जना नृत्य कलाकारलाई समावेश गरेका छन् ।
सामिप्य तिमल्सेना लेखक र श्रीधर पौडेल कार्यकारी निर्माता रहेको फिल्ममा शैलेन्द्र डि. कार्कीले छायांकन र निमेष श्रेष्ठले सम्पादनको जिम्मेवारी सम्हालेका छन् ।