काठमाडौँ, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा जागरण र परिवर्तन ल्याउन लागि चलचित्र निर्माण गरिनुपर्ने बताएका छन् ।
नेपाल कलाकार संघद्वारा शुक्रबार राजधानीमा आयोजित ‘दोस्रो फान अवार्ड’मा प्रधानमन्त्री ओलीले समयको मागअनुरुप चलचित्र निर्माण हुन सकेमा मात्र यस क्षेत्रको विकास र उन्नति हुने बताए । उनले भने, ‘मेरो भारत भ्रमणमा कलाकारलाई पनि स्थान दिनेछु ।’ प्रधानमन्त्री ओली यही आउँदो २३ चैतदेखि २५ सम्म भारतको राजकीय भ्रमण गर्दैछन् ।
प्रधानमन्त्री केपी शर्मा ओली, सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटा संघका अध्यक्ष रामकेशर बोगटी लगायत नेपाल चलचित्र कलाकार संघको आयोजनामा काठमाडौँमा शुक्रबार आयोजित दोस्रो ‘फान अवार्ड २०७३’ मा सहभागी हुनुहुँदै ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल र भारतका कलाकारबीच चाँडै अन्तक्र्रिया गराउने र उक्त कार्यले कला क्षेत्रको विकास र विस्तारमा थप सहयोग गर्ने प्रधानमन्त्रीको भनाइ छ ।
उनले भने, ‘कला क्षेत्रको विकास गर्न सरकारको तर्फबाट सक्दो सहयोग गर्छु, कलाकारले सामाजिक जीवनको समग्रताको पक्षमा चलचित्र निर्माण गर्नुपर्छ ।’
कार्यक्रममा पाँच दशकभन्दा बढी कला क्षेत्रमा बिताएका कलाकार नीर शाहलाई नगद १ लाख ११ हजार १११ सहित ‘दीर्घ साधना’ बाट सम्मानित गरिएको थियो । त्यस्तै, प्रोत्साहनका लागि नयाँ कलाकार प्रदीप खड्कालाई पनि सम्मान गरिएको थियो ।