शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु | ४ लाख ८५ हजार विद्यार्थी सहभागी
screennepal
प्रकाशित: २०७४, ८ चैत्र बिहीबार
no img

यसवर्ष परीक्षामा अनिवार्य विषयतर्फ गणित बाहेक सबैमा प्रयोगात्मक परीक्षाको व्यवस्था गरिएको छ । एसइई परीक्षामा चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी भएका छन् ।

काठमाडौं, ८ चैत । माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबार (आज)बाट देशभर सुरु भएको छ । परीक्षा देशभरका १ हजार ९५६ परीक्षा केन्द्रमा एकैसाथ सञ्चालन भएको छ ।
बिहीबार बिहान ८ बजेबाट ११ बजेसम्म भएको परीक्षा देशभर शान्तिपूर्ण रुपमा सञ्चालन भएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बताएका छन्। पहिलो दिन अंग्रेजी विषयको परीक्षा सञ्चालन भएको छ ।

भक्तपुरको सानोठिमिस्थित आदर्श मावि परीक्षा केन्दमा बिहीबारदेखि शुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइइ)मा सहभागी हुँदै विद्याथी । तस्वीर : रासस

यसवर्ष परीक्षामा अनिवार्य विषयतर्फ गणित बाहेक सबैमा प्रयोगात्मक परीक्षाको व्यवस्था गरिएको छ । एसइई परीक्षामा चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी भएका छन् ।
परीक्षामा प्रत्येक केन्द्रमा एक जना केन्द्राध्यक्ष, दुई हजार ४५० सहायक केन्द्राध्यक्ष, २० हजार ३४० निरीक्षक, १० हजार ६७६ सहयोगी र २९ हजार ३४० सुरक्षाकर्मी गरी जम्मा ६४ हजार ७६२ जनशक्ति परिचालित भएको रेग्मीले बताए ।
साधारणतर्फको परीक्षा १७ गते तथा प्राविधिकतर्फको परीक्षा २० गतेसम्म सञ्चालन हुनेछ । यसवर्ष माध्यमिक शिक्षा पाठ्यक्रम २०७१ अनुसार नयाँ पाठ्यक्रमका आधारमा प्रश्नपत्र तयार पारिएको बताइएको छ ।

शिक्षामन्त्री गिरीराजमणि पोखरेलद्वारा रत्नराज्य मावि परिक्षा केन्द्रमा बिहीबारदेखि शुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइइ)को अवलोकन गर्दै । रासस

अनुत्तीर्ण परीक्षार्थी र अक्षराङ्न पद्दतिको नतिजामा विभिन्न विषयमा ‘सी’ ग्रेड वा सोभन्दा तल्लो ग्रेड प्राप्त भई ग्रेडवृद्धि परीक्षामा ग्रेडवृद्धि गर्न नसकेका परीक्षार्थीका लागि समेत एक्जामटेड परीक्षार्थीका रुपमा परीक्षा दिने व्यवस्था गरिएको परीक्षा नियन्त्रक रेग्मीले जानकारी दिए ।
सबै प्रदेश समेटिनेगरी राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी तथा शिक्षा मन्त्रालय मार्फत् सहसचिवको नेतृत्वमा अनुगमन टोली, क्षेत्रीय शिक्षा निर्देशनालयमा आफ्नो क्षेत्रभित्र अनुगमन टोली र जिल्लामा परीक्षा समन्वय समितिका पदाधिकारी एवं जिल्ला शिक्षा कार्यालयका कर्मचारीलाई अनुगमनमा खटाइएको छ । अनुगमन टोलीले परीक्षामा अमर्या्दित कार्य गर्ने वा गर्न उक्साउने जो–कोहीलाई स्थलगत रूपमै कारबाही गर्नसक्ने अधिकार दिइएको छ ।

Comments