काठमाडौं, ११ पुस । गीतकार माधव निर्दोष र संगीतकार सन्तोष श्रेष्ठको संयुक्त एल्बम ‘मित्रता’ श्रोतामाझ आएको छ । संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति वरिष्ठ संगीतकार शम्भूजित बास्कोटाले ‘मित्रता’को लोकर्पण गरे ।
संगीत कला पत्रकार संघको आयोजनामा भएको लोकार्पण कार्यक्रममा गीतकार संघ नेपालका अध्यक्ष चुडामणि देवकोटा, संगीतज्ञ बुलु मुकारुङ, ललितकला प्राज्ञ प्रतिष्ठानका प्राज्ञ ज्योतिप्रकाश विक, वरिष्ठ चलचित्र पत्रकार एवं गीतकार शान्तिप्रियलगायत थिए ।
संघका अध्यक्ष सुमन पण्डितको सभापतित्वमा भएको कार्यक्रममा गीतकार निर्दोषले आफ्ना विगत र गीति लेखनबारे प्रष्ट पारेका थिए । निर्दोषले आफूलाई संगीतकार बुलु मुकारुङले गीति लेखन राम्रो छ भन्दै गीतकार बन्ने बाटो देखाएको बताए ।
त्यसैगरी संगीतकार सन्तोष श्रेष्ठले मितेरी एल्बमदेखिको सांगीतिक साइनोले आत्मीयता र मित्रतासम्म एकल संगीत गर्ने अवसर मिलेको बताए । निर्दोषका गीतका लाइनमा नै आफैं संगीत भरिएको बताउँदै श्रेष्ठले एउटा राम्रो गीतकारका रुपमा आफूले पाएको बताएका थिए ।
त्यसैगरी वरिष्ठ चलचित्र पत्रकार शान्तिप्रियले मितेरी, आत्मीयता हुँदै मित्रता आइपुग्दा अझै आत्मीयतामा परिणत होस् भन्ने शुभकामना व्यक्त गर्दै गीतकारले धानेको संगीत उद्योगका रुपमा पाएको बताएका थिए ।
त्यसैगरी वरिष्ठ संगीतज्ञ बुलु मुकारुङले गीतिकथाको रुपमा लेखन सुरु गर्दै गीतकारसम्म आइपुग्दा एउटा इतिहास बनेको बताएका थिए । भोलिको इतिहासले अब माधव निर्दोष गीति कथा लेखनको सशक्त नामका रुपमा चित्रित गर्ने बताएका थिए भने संगीतकार सन्तोष श्रेष्ठ दोस्रो शम्भूजितका रुपमा चिनिने लाइनमा निरन्तर क्रियाशील रहेको बताएका थिए ।
मित्रता एल्बमभित्र सन्तोष श्रेष्ठको एकल संगीत र माधव निर्दोषको एकल गीत रहेको छ । एल्बमभित्र मुटुविना, आऊ नजिकै आऊ, तिमीसँग छुटेपछि, तिम्रो सधैं जित हुँदा, जाऊ छोडेर जाऊ जस्ता गीतहरु समावेश छन् ।