काठमाडौं, २१ साउन । यसअघि बलिवल खेलाडी सिपोरा गुरुङलाई त ग्ल्यामरस क्षेत्रमा देखिएकै हो । सिपोरा आफ्नो पेसामा जति चर्चित छिन्, त्यति नै ग्ल्यामरसमा पनि । तर, यसैबेला राष्ट्रिय फुटबल टिमका मिडफिल्डर विक्रम लामा मोडलिङमा देखिएका छन् ।
विक्रमले एक गीतको भिडियोमा मोडलिङ गरेका छन् । विक्रमले गायक केबी राईको ‘आँखाहरू…’ बोल गीतको भिडियोमा मोडलिङ गरेका हुन् । जुन भिडियो सार्वजनिक समेत भइसकेको छ ।
हालै यु–टयुबमार्फत रिलिज गरिएको यस गीतमा प्रकाश इङ्नामको शब्द र हरि लम्सालले संगीत दिएका छन् । विक्रमलाई मोडलिङमा ल्याउने कामक भने सञ्चारकर्मी महेश लिम्बूले गरेका हुन् अर्थात् ‘आँखाहरु…’को भिडियोलाई महेशले निर्देशन गरेका हुन् । भिडियोमा विक्रमसँग आर्जु खरेलले गरेका छन् । भिडियोमा विक्रमलाई खेलाडीकै रूपमा देखाइएको छ । विक्रमलाई भिडियोमा देखेर उनका केही फयानले यु–टयुबमा खुसी व्यक्त गरेका छन् ।