– बिजयालक्ष्मी राई/स्क्रीन नेपाल
दुबई, १९ बैशाख । शान्तिको अग्रदूत तथा राष्ट्रिय विभूती भगवान गौतम बुद्धको २५६१ जन्मजयन्तीको अवसरमा यहाँ विशेष कार्यक्रम हुने भएको छ । युएईमा क्रियाशिला संघसंस्था, उद्योगी ब्यवसायी एवं विभिन्न ४ दर्जनभन्दा बढी संस्थाहरुले संयुक्त रुपमा अबुधाबी मलयाली समाज हलमा १२ मे अर्थात् शुक्रबार कार्यक्रम हुन लागेको हो ।
बौद्ध धर्म गुरुबाट प्रवचनबाट शुरु हुने सो कार्यक्रममा नेपालबाट ख्याती प्राप्त कलाकारहरु रोज मोक्तान, खुमन अधिकरी र कोपिला गुरुङको विशेष प्रस्तुति रहने छ भने युएईमा कार्यरत स्थानीय कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ । कार्यक्रममा आदिवासी जनजातिहरुले भेषभूषा प्रदर्शन गर्नका साथै सांस्कृतिक झार्की प्रदर्शन गर्ने भएका छन् ।
ई.पु. ५६३ मा राजा सुध्दोधन र आमा मायादेवीको कोखबाट नेपालको लुम्बिनीमा जन्मिएको भगवान बुद्धको २५६१औं जयन्ती प्रवासमा पहिलोपटक भव्य रुपमा मनाइन लागिएको हो ।
विभिन्न संघसंस्थाको यस संयुक्त कार्यक्रममा विश्वभरी छरिएर रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्य रहेको आदिवासी जनजाति महासंघ युएईका उपाध्यक्ष तथा कार्यक्रमको संयोजक सुरेन्द्र थिङ तामाङले बताए । उनका अनुसार कार्यक्रममा विभिन्न बाधा अर्चनको वावजुद पनि कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । कार्यक्रम ब्यवथापन विभागका अनुसार कार्यक्रम भव्य रुपले सम्पन्न गर्नका लागि युएईमा विभिन्न पेशा ब्यवसायीमा आबद्धहरुलाई अपिल गरिएको छ ।