काठमाडौं, २४ फागुन । चलचित्र ‘यो साइनो मायाको’ ४ चैतबाट अलनेपाल रिलिज हुँदैछ । विशुद्ध प्रे्रमकथामा आधारित यो चलचित्रको अधिकांश छायांकन पुर्वमै गरिएको हो ।
अरुण प्रधान निर्देशित ‘यो साइनो मायाको’ लाई रामकुमार श्रेष्ठले निर्माण गरेका हुन् । करिब ६० लाख रुपैयाँ बजेटमा निर्माण भएको यो नायक जतिन ताम्राकार र नायिका रेश्मा घिमिरेको डेब्यु चलचित्र हो । तर, आफ्नो डेब्य चलचित्र भएपनि आशावादी रहेको जतिनले बताए । ‘मैले शतप्रतिशत मिहिनेत गरेको छु’ उनले भने, ‘तर, दर्शकबाट कस्तो रेश्पोन्स आउँछ, त्यो रिलिजपछि नै थाहा हुनेछ ।’ चलचित्रमा प्रेम, रोमान्स र रोदन मिश्रित रहेका पनि उनले सुनाए ।
मञ्जिना मुमिज् क्रियशनको व्यानरमा निर्मित ‘यो साइनो मायाको’ मा जतिन र रेश्माका अलावा नवनितराज प्रधान, राजु भुजेल, किशोर भण्डारी र विशाल श्रेष्ठको पनि मुख्य अभिनय छ । यो चलचित्रले दर्शकसँग कस्तो साइनो गाँस्न सफल हुने हो, त्यो भने चैत ४ पछि नै थाहा हुनेछ । तर, निर्माणपक्ष भने चलचित्रप्रति ढुक्क छन् ।