काठमाडौं, २२ फागुन । म्युजिक भिडियो निर्माणमा पछिल्लो समय फरकपन ल्याउन थालिएको छ । गीतसंगीतमा म्युजिक भिडियो अनिवार्य जस्तै हुन थालेपछि फरकपन अँगाल्नु पर्ने नै भयो । यस्तै एउटा भिडियो निर्माण भएको छ । प्रस्तुत भिडियोमा नेपालको मध्यपश्चिम दैलेखको दुल्लुमा छायांकन गरिएको हो । जसमा सोही गाउँका ७० बर्षका मते दमै र ६२ बर्षकी मैसरा दमैको प्रेम कथालाई समेटेको छ ।
पेसाले उनीहरु लुगा सिलाउँछन् । जीवनमा पहिलोपटक क्यामरामा उभिएका यि दम्पतीको प्रस्तुती जिवन्त लाग्छ । जन्मथलो छोडेर प्रदेशिएका लाखौं युवायुवती जो आफ्नो जन्मदिने बा–आमा प्रतिको कर्तब्य बिर्सन्छन या त कोही बाध्यतामा परेर पनि फर्किन सकेका छैनन् । सबैको आ–आफ्नो पीडा र ब्यथा छन् । यो गीत तथा भिडियोे उनीहरुप्रति नै समर्पण गरिएको छ ।
घरको आर्थिक अभावको समस्याले ५५ बर्षसम्म सँगै हिँडेको रथको एक भाग छुट्टिदा मैसरा दमै र मते दमैको जिवन एक्लिन्छ । जुन यो भिडियोको कथाको मुल सार हो ।
यस गीतलाई गायक सञ्जिव गुरुङले गाएका हुन् । जो हङकङमा बसोबास गर्छन् । उनी गीत संगीतलाई आफ्नो पेसा बनाएर नेपाली अंग्रेजी गीतसंगीत सँगै १५ बर्षदेखि निरन्तर सक्रिय छन् ।
यस गीतमा शब्दसंगीत कन्दरा ब्यान्डका सदस्य सुनिल थापाको छ । यस भिडियोलाई छायांकन, सम्पादन र निर्देशन यसै समुहका सदस्य गीतारिस्ट जीबनले गरेका हुन् ।