कोरियोग्राफी, निर्देशन र अभिनयलाई एक साथ अगाडि बढाउँदै आएका राज भन्छन्, ‘निर्देशन मेरो पेसा हो भने अभिनय र मोडलिङ चाहिँ रुचि मात्र हो ।’ तर, रुचिमात्र भएपनि उनले निर्माण हुँदै आएका अधिकांश तामाङ भाषाका गीतको भिडियोमा उनै राज हुन्छन् । यस्तो किन त ? उनी भन्छन्, ‘खै, यो दर्शक तथा श्रोताको रुचिले हुनुपर्छ ।’
– एमपी सुब्बा
काठमाडौं, १९ माघ । एउटा नेपालीमा भनाइ छ ‘बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन’ यो भनाई कलाकारिता क्षेत्र पनि पनि लागू हुन्छ । तर, यहाँ यस्ता कलाकार पनि छन्, जो कलाकारितामै समर्पित भएर पनि ओझेलमै छन् । यस्तै, एक उदाहरण हुन्, राज किङ वाइबा अर्थात् सुकबहादुर तामाङ ।
कलाकारिता क्षेत्रमा राज किङ वाइबाका रुपमा चिनिएका उनी तामाङ समुदायका लागि एक ‘स्टार’ हुन् । तर, राज अहिलेसम्म आफ्नै समुदायभित्र मात्र सिमित छन् । उनले कलाकारिता क्षेत्रमा एक दशक पूरा गरेका छन् । । तर, यहाँसम्म आइपग्दा खाशै मूलधारको मिडियामा आएको छैनन् ।
तामाङ भाषाका चलचित्र र म्युजिक भिडियोका लागि राज चर्चित नाम हो । एक किसिमले भन्ने हो भने उनी तामाङ समुदायका लागि राजेश हमाल नै हुन् । जतिखेर नेपाली चलचित्र क्षेत्रमा अभिनेता हमालको जगजगी थियो, त्यतिखेर हमालको नामै काफी थियो । यस्तै, वर्तमान सन्दर्भमा राजको नाम पनि यस्तै छ । तर, उनको कलाकारिताको योगदानलाई मिडियाले उठान गरेको पाइदैन ।
निर्देशक, मोडल र अभिनेता समेत रहेका राजले हालसम्ममा एक सय पचासभन्दा बढी तामाङ भाषाका गीतको भिडियो निर्देशन गरिसकेका छन् भने करिब उत्ति नै संख्यामा मोडलिङ । तामाङ समुदाय अर्थात् भाषाका लागि यतिको संख्या पक्कै कम होइन । तर, उनले गरेका ती कामको मूल्यांकन अहिलेसम्म तामाङ समुदायभित्र मात्र सिमित छ । त्यसैले उनी भन्छन्, ‘म आफ्नो समुदायकमा त चिनिएकै छु । तर, अब आम नेपाली दर्शकमाझ पनि चिनिने इच्छा छ ।’
धादिङ, सत्यदेवी–७ का राजले केही तामाङ चलचित्रको निर्देशनसँगै अभिनय पनि गरेका छन् । २०६३ सालबाट नृत्य कोरियोग्राफर हुँदै चलचित्र निर्देशकसम्म आइपुगेका राजले ‘टङ्जीम बर्जी’ नामक तामाङ चलचित्रको निर्देशन गरेका छन्, जसमा उनैले अभिनय पनि गरेका छन् । उनको अभिनय यात्रा भने २०६३ सालबाट हो । उनी भन्छन्, ‘त्योभन्दा अघि कोरियोग्राफी र निर्देशन मात्र गर्थे ।’ चलचित्र ‘टङ्जीम बर्जी’ मा राजकै कथा तथा पटकथा समेत रहेको छ ।
यसरी कोरियोग्राफी, निर्देशन र अभिनयलाई एक साथ अगाडि बढाउँदै आएका राज भन्छन्, ‘निर्देशन मेरो पेसा हो भने अभिनय र मोडलिङ चाहिँ रुचि मात्र हो ।’ तर, रुचिमात्र भएपनि उनले निर्माण हुँदै आएका अधिकांश तामाङ भाषाका गीतको भिडियोमा उनै राज हुन्छन् । यस्तो किन त ? उनी भन्छन्, ‘खै, यो दर्शक तथा श्रोताको रुचिले हुनुपर्छ ।’
हुन पनि एक समय तामाङ भाषाको म्युजिक भिडियो निर्देशन र अभिनयमा राजको विकल्प नै थिएन अर्थात् राजको एकछत्र राज थियो । त्यसैले त उनको नाम सयौं भिडियो दर्ज भए । तर, अहिलेको अवस्था त्यस्तो छैन किनकि, हिजोआज तामाङ समुदायमा पनि थुपै्र मोडल, अभिनेता र निर्देशक जन्मिसकेका छन् । यो कुरा उनी पनि स्वीकार्छन् । राज भन्छन्, ‘पहिलेजस्तो त कहाँ हुनु र ? थप्र्रै कलाकार तथा निर्देशक आएका छन् । यो खुसीको कुरा पनि हो । तर, जति नै नयाँ प्रतिभाहरु आगमन भएपनि आफूलाई कुनै असर नपर्ने राज बताउँछन् ।
‘नयाँ प्रतिभा तथा कलाकार जन्मिनु भनेको खुसीको कुरा हो’, राज भन्छन्, ‘यसले स्थापित कलाकारलाई कुनै असर पर्दैन । म आफ्नो ठाउँमा छु । उहाँहरुले पनि आफ्नो ठाउँबाट रामै्र गरिरहेका छन् ।’
यसरी कलाकारितामार्फत आफ्नो भाषा, संस्कृति र भेषभूषाको प्रवद्र्धन गर्दै आएका राजले पछिल्लो समय आफ्नो योगदानको समेत कदर हुन थालको अनुभूत गर्न थालेका छन् । सयौ गीतको भिडियोमा अभिनय गरिसकेका राजले हालै सम्पन्न ‘प्रथम म्हेन्दोमाया म्युजिक अवार्ड’ मा ‘तामाङ ठिटी’ गीतको भिडियोबाट अवार्ड पाए । जसलाई उनी आफ्नो कामको सम्मान भन्न रुचाउँछन् । ‘तामाङ ठिटी’ गायिका छिमी मम्बाको एल्बम हो । छिमीले पनि यसै एल्बमबाट अवार्ड पाएकी थिइन् । ‘म्हेन्दोमाया म्युजिक अवार्ड’मा ‘तामाङ ठिटी’ले ‘वर्षको उत्कृष्ट एल्बम’ को अवार्ड पाएको थियो । राज अभिनीत तथा निर्देशित ‘चच्चा राङी’, ‘तामाङ ठिटी’, ‘साँचो बक्सरी’ जस्ता चर्चित तामाङ भाषाका गीतहरु रहेका छन् । यिनै गीतका भिडियोहरुले उनी तामाङ समुदायमा ‘हिरो’ कहिलिएका छन् ।
हालैमात्र सोनाम ल्होसारको अवसरका आयोजित कार्यक्रममा उनी धादिङमा सम्मानीत भएका छन् । राजलाई तामाङ घुदुङ धादिङले कलाकारिता क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरेको हो ।
हनु त राज सम्मान र पुरस्कारभन्दा पनि आफ्नो काममा बढी ध्यान दिन्छन् । उनी कमाउनतिर पनि लागेका छैनन् । अहिलेसम्म आफूले कमाएको दर्शक तथा श्रोताको मायालाई नै उनी आफ्नो सम्पती मान्छन् । राज भन्छन्, ‘कमाइकै कुरा गर्ने हो भने म करोडपति हुँ तर, म त्यतातिर लागिनँ ।’ दामले कमा गर्न सहज बनाएपनि सबै कुरा दाममा नभएको उनले सुनाए । राजको सोच भने ‘पहिले नाम, त्यपछि दाम’ कमाउनु रहेको छ ।’ र, एकदिन अवश्य आफ्नो सोच पूरा हुने पनि उनले बताए ।
अझै आफ्नो क्षेत्र र समुदायका लागि समर्पित भएर काम गर्न चाहेको राजले बताए । मूलधार भनिएको नेपाली चलचित्र क्षेत्रमा समेत आउने सोच बनाइरहेका राजले भने, ‘नेपाली चलचित्र क्षेत्रमा पनि काम गर्ने योजना बनाएको छु । तर, नेपाली चलचित्रमा लागेपनि तामाङ भाषाका चलचित्र र भिडियोलाई पनि निरन्तरता नै दिनेछु ।’