काठमाडौं, ५ माघ । बलिउड अभिनेता सलमान खान कालो हरिण केशबाट मुक्त भएका छन् । उनलाई जोधपुर अदालतले लामो समयदेखि चलिरहेको उक्त मुद्दाबाट मुक्त गरेको हो । १८ बर्षदेखि सलमानले यो मुद्दा लडिरहेका थिए ।
चलचित्र ‘हम साथ साथ हे’ को छायांकनका क्रममा सलमानसहित अन्य ४ जना कलाकारले जोधपुरमा कालो हरिणको शिकार गरेको आरोप लागेको थियो । १८ बर्षपछि फैसला सुनाउँदै जोधपुर अदालतले बुधबार सलमानलाई केसबाट मुक्त गरेको हो ।
सलमान अदालत पुगेको केहि मिनेटमै अदालतले फैसला सुनाएको थियो । फैसला सार्वजनिक भएपछि सलमानले फेसबुक र ट्विटरमार्फत आफ्ना फ्यानलाई धन्यवाद समेत दिएका छन् ।
मुद्दामा सलमान दोषी देखिएको भए २ देखि ७ बर्षसम्मको जेल सजाय हुने थियो । यस केसमा सलमानले ५ दिन जेलमा पनि बिताइसकेका थिए । (एजेन्सी)