काठमाडौं, १८ पुस । नारी प्रधानताको विषयलाई लिएर निर्माण गरिएको फिल्म ‘परिणाम’ आगामी माघ २१ गतेबाट अल नेपाल प्रदर्शनमा आउने भएको छ । लक्ष्मी बेन्कटेस सिनेमेकर्स प्रालिको व्यानरमा निर्मित फिल्मले राजधानीमा सोमबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो ।
फिल्मका निर्माता तथा निर्देशक हरि पराजुलीले फिल्ममा नारीले हिंसा सहनुहुँदैन र प्रतिकार गर्नुपर्छ भन्ने सन्देश दिने बताए । फिल्मका कार्यकारी निर्माता पदम निरौलाले फिल्मको कथाले महिलालाई प्राथमिकता दिने भएकाले पनि दर्शकले मनपराउने दाबी गरे ।
नायिका सारिका घिमिरेले फिल्ममा आफु एक्सन भूमिकामा प्रस्तुत भएको खुलाउँदा अर्की नायिका झरना रिसालले आफु चाहिँ डराउने चरित्रमा देखिने बताईन् । नायक असिम शेर्पाले पनि आफ्नो भूमिकाका बारे बताए ।
फिल्ममा सारिका र झरनाका अलावा मुकेश ढकाल, किसन सुनार, असिम शेर्पा, मुक्ति उपाध्याय, दिलकुमार क्षेत्री, चन्दन गोस्वामी, सञ्जय न्यौपानेको अभिनय छ । । नारायण घिमिरेको लेखन रहेको फिल्ममा माधव शर्माको पटकथा, संवाद, एनबी महर्जन र कुमार महर्जनको द्वन्द्व, कृष्ण बस्नेतको गीत र संगीत, कमल राई र प्रिया पराजुलीको नृत्य, मनिषा पोखरेल र नितिश शर्माको गायन, तारा थापा ‘किम्भे’को सम्पादन, श्याम कुँवरको रंग संयोजन, प्रकाश महरा र प्रकाश हमालको प्रोडक्सन र शिव ढकालको छायांकन छ । आर एण्ड आर फिल्मस्ले वितरण गर्ने फिल्मको मिडिया कोओर्डिनेटर कुमार आचार्य हुन् ।