काठमाडौं, २० कार्तिक । समग्र म्याग्दीलाई चिनाउने गरी गीतकार तथा संगीतकार टंक शेरचनले ‘हाम्रो जिल्ला म्याग्दी’ बोलको गीतको म्युजिक भिडियो दर्शकमाझ ल्याएका छन् । राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा वरिष्ठ संगीतकार शिलाबहादुर मोक्तानले भिडियो सार्वजनिक गरे ।
भिडियो हेरेपछि संगीतकार मोक्तानले भिडियोमा मौलिकतासँगै समग्र म्याग्दीलाई चिनाउने काम भएकोले आफुलाई मन परेको बताए । एउटा जिल्लालाई विभिन्न कोणबाट सांस्कृतिक र पर्यटकीय रुपमा चिनाउन सक्नु गीतकारको लेखनको खुबी भएको दाबी गरे ।
गीतकार शेरचनले आफु सानैदेखि गीत संगीतप्रति हुरुक्कै हुने गरेको बताउँदै आफ्नो जिल्लालाई चिनाउन गीत लेखेकोमा खुशी व्यक्त गरे । शेरचनका एल्बम ‘खुकुरी’, लोकदोहोरी एल्बम ‘हुन्छु निराश’, बाँसुरीको धुन संग्रहित एल्बम ‘इमेज अफ हिमालय’, ‘कल अफ फ्ल्युट’ र ‘हाम्रो म्याग्दी’ बजारमा आईसकेका छन् ।
भिडियोको गीतमा खड्ग गर्बुजा र दुर्गा परियारको स्वर छ । मुनाल फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको भिडियोमा बद्री केसी, यशोदा बुर्जा पुन र ज्योति भट्टचनले अभिनय गरेका छन् । भिडियोमा बद्रीकै कोरियोग्राफी, खिमबहादुर गुरुङको छायांकन,बालकाशी गुरुङको सम्पादन र भोजबहादुर गुरुङको निर्देशन छ । भिडियोमा म्याग्दीका रमणीय स्थानहरुलाई कैद गरिएको छ ।