काठमाडौं, ९ असोज । ताराप्रकाश लिम्बू नेपाली गायन क्षेत्रमा चर्चित छन् । संगीत सिर्जनामा मात्र नभएर उनी गायनमा पनि उत्तिकै लोकप्रिय छन् । यिनै संगीतकार तथा गायक एक गीतको भिडियोमा मोडलका रुपमा देखिएका छन् । ‘मायाको चिनो कुसुमे रुमाल’ बोल गीतको भिडियोमा यी संगीकारले मोडल सम्पदा बानियाँसँग अभिनय गरेका छन् । आफ्नै संगीत तथा स्वर रहेको यस मर्मश्पर्शी गीतको भिडियोमा ताराप्रकाशले डुबेर अभिनय गरेका छन् ।
यो भिडियो हेर्दा लाग्छ, ताराप्रकाश गायन र संगीतमा मात्र नभएर अभिनयमा पनि अब्बल छन् । तारोको अभिनय कुनै व्यवसायिक मोडलको भन्दा कम छैन । तर, उनलाई मोडलिङमै भने सौख छैन । ‘मायाको चिनो कुसुमे रुमाल’ मा अभिनय गरेपछि ताराप्रकाशले भने, ‘मोडलिङ मेरो रुचि र सौखको विषय होइन, मात्र मेमोरीका लागि गरेको हुँ ।’
राज पहरीको शब्दरचना रहेको ‘मायाको चिनो कुसुमे रुमाल’ गीतले एउटा पारिवारिक कथा बोकेछ । पारिवारिक प्रेमभित्रको भावनात्मक यस गीतको एक बालकलाकारले पनि अभिनय गरेकी छन् । यो भिडियो हेरिसक्दा एउटा पूरै फिल्म हेरेको आभाष हुन्छ । यस कथात्मक भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् । हरी हुमागाइँको छायांकन तथा निशान घिमिरेको सम्पादन रहेको यो गीत ‘वियोग’ मा समावेश छ । गीतकार राजको ‘वियोग’ मा यस गीतसँगै राजेशपायल राई, दीप्क लिम्बू, शिव परियार, प्रमोद खरेललगायतको स्वर रहेको छ ।