
काठमाडौं, २६ भदौं । युनाइटेड आर्टिष्ट एसोसिएसन उत्तर अमेरिका ‘युनाना’को युनाना–नेपाल कलाकार मैत्रीमञ्च संयोजकमा संगीतकार सन्तोष श्रेष्ठलाई चयन गरिएको छ भने युनाना–कतार नेपाली कलाकार मैत्री मञ्चको संयोजकमा गायक मंगल विकलाई चयन गरिएको छ ।
युनानाका अध्यक्ष कन्हैया सिंह र सदस्य अन्जना गुरुङको उपस्थितिमा भएको एक कार्यक्रमकाबीच संगीतकार श्रेष्ठ र गायक विकलाई संयोजकको जिम्मेवारी दिइएको हो । युनानाले केहीसमयअघि मात्र युनाना–युके नेपाली कलाकार मैत्रीमञ्चको जिम्मेवारी प्रदीप सिंहलाई दिएको थियो । विश्वभरि छरिएर रहेका नेपाली कलाकारहरुसँग सांस्कृतिक सम्बन्ध गाँस्दै नेपाली गीतसंगीत, चलचित्र, कला, साहित्यलाई विश्वव्यापीकरण गर्ने उद्देश्यका साथ स्थापना भएको संस्था युनानाले सम्भव भएसम्मका विश्वका सबै देशमा मैत्री मञ्च स्थापना गर्ने लक्ष्य लिएको अध्यक्ष कन्हैया सिंहले कार्यक्रममा बताए ।