काठमाडौं, २२ भदौं । पछिल्लो समय गायिका मेलिना राई आफ्नो सुमधुर स्वरका कारण नेपाली गायन क्षेत्रमा चर्चामा छिन् । दिनदिनै सांगीतिक करिअरमा उकालो चढिरहेकी यिनै मेलिनाको सुमधुरले स्वर सजिएको एउटा गीतको भिडियो सार्वजनिक भएको छ । ‘हामी सँगसँगै हिड्दा’ बोल गीतको यस भिडियोलाई यु–ट्युबमार्फत रिलिज गरिएको हो ।
यो पछिल्लो मेलिनाको रिलिज गीतका अहिलेका चर्चित संगीतकार तथा गायक ताराप्रकाश लिम्बूको संगीत रहेको छ भने शब्दरचना समन योञ्जनको रहको छ । यो गीतको भिडियोमा पल शाह र विपनाले मोडलिङ गरेका छन् । पाश्र्वगायनमा समेत चम्किरहेकी गायिका मेलिनाको यो गीत अन्य गीतभन्दा केही फरक स्वादमा छ । प्राय एउटै किसिमको संगीतमा स्वर भर्दै आएको मेलिना राईको यस गीतलाई श्रोता तथा दर्शकले छोटो समयमै रुचाएका छन् । यो भिडियो तथा अडियो संगीतकार ताराप्रकाशकै कम्पनी ‘स्टार लाइट इन्टरटेनमेन्ट’मार्फत रिलिज गरिएको हो ।