काठमाडौं । गायक भिषण मुकारुङ र गीतकार अञ्जन किराँतीको संयुक्त आधुनिक गीति एल्बम ‘एउटा सत्य’ सार्वजनिक गरिएको छ । राजधानीमा बुधबार एक समारोहबीच नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव एवं बरिष्ठ गायक गणेश रसिक, निर्देशक नविन सुब्बा, गीतकार डा. कृष्णहरि बराल, गायक राजेशपायल राईलगायतले संयुक्त रुपमा एल्बमको विमोचन गरेका थिए ।
एल्बममा गीतकार किराँतीको एकल शब्द तथा भिषणको स्वर र संगीत रहेको छ । दुई वर्षअघि मात्र ‘चन्द्रमुखी’ ल्याएका भिषणको ‘एउटा सत्य’ पाँचौ एकल एल्बम हो ।
विमोचित एल्बमबारे चर्चा गर्दै गायक रसिकले भने, ‘भिषण मुरुकाङ गायनमा जस्तै संगीत सिर्जनामा पनि अब्बल देखिएका छन् । एल्बममा समावेश गीतहरु वर्तमान गीतसंगीतका श्रोता केन्द्रित छन् ।’ एल्बमका गीतहरु फरक–फरक शैलीका हुनाले पनि ‘एउटा सत्य’ लाई युवापुस्ताले रुचाउँने रसिकले आफ्नो धारणा राखेका थिए । उनले गीतकार किराँतीको गीति लेखनको प्रशंसा गरेका थिए ।
गायक भिषण यसै एल्बममार्फत संगीतकार रुपमा आएका हुन् । यसअघि गायकका रुपमा मात्र चिनिएका भिषणको संगीत सिर्जनाको तारिफ गर्दै गीत डा. बरालले भने, ‘भिषणका संगीत सिर्जना वास्तवमै तारिफ योग्य छ । अबका दिनमा भिषणलाई गायकमात्र नभएर राम्रो संगीतकारका रुपमा समेत चिनिनेछन् भन्ने मलाई विश्वास छ ।’
गीतकार किराँतीको ‘एउटा सत्य’ पहिलो एल्बम हो । रोजगारीको सिलसिलामा युएईमा लामो समयदेखि बस्दै आएका गीतकार किराँतीले कार्यक्रममा भने, ‘यो एल्बमका गीतहरु मेरो आफ्नै भोगाइ हुन् । जीवनका तिता–मिठा भोगाइहरु कपिका उर्तादा–उतार्दै यो एल्बम तयार भएको हो ।’ उनले जीवनको भोगाइहरु एउटा सत्य भएकाले एल्बमको नाम पनि ‘एउटा सत्य’ राखेको बताए ।
एल्बममा जम्मा ६ वटा गीत छन्, जसमा एउटा सत्य, फुलको सौन्दर्य, जीवनदेखि, पूर्णिमाको जूनजस्तो, तिमीबाट टाडा र जन्मपछि बोलका रहेका छन् । ‘फूलको सौन्दर्य’ बोलको गीतमा भिषणलाई गायिका मेलिना राई स्वरमा साथ दिएकी छन् । कार्यक्रममा एल्बमको शीर्ष गीतको भिडियो देखाइएको थियो । भिडियो निकेश खड्काल निर्देशन गरेका हुन् । भिडियोमा वर्षा राउत र प्रकाशले अभिनय गरेका छन् ।