काठमाडौं । गायक दिपेन गुरुङ केही समय यता अमेरिकामा छन् । आफ्नो पछिल्लो एल्बम ‘प्रतिक’ रिलिज गरेपछि अमेरिका पुगेका यिनै गायक यतिखेर भाग्यका कुरा गर्दैछन् । हुन त अमेरिका पुगेरमात्र उनले भाग्यको कुरा गरेका होइनन्, नेपालमै हुँदा गाएको ‘कस्तो यो भाग्यमा…’ बोलको गीतको भिडियोलाई चाहिँ उता अमेरिका पुगेर सार्वजनिक गरेका हुन् । मिङ्मा शेर्पाको शब्दरचना रहेको ‘यो भाग्यमा…’ दिपेनको ‘प्रतिक’ मा समावेश गीत हो ।
यस गीतलाई अडियोमा समेत श्रोताले निकै रुचाएका थिए । त्यसैले भिडियोमा ल्याएपछि आफ्नो गीतले थप चर्चा पाउँने दिपेनको अपेक्षा छ । दर्जनौ गीतमा स्वर दिइसकेका उनी भन्छन्, ‘यो भिडियो नेपालमै छायांकन गरिएको हो । हतारमा गरिएको भएपनि यो गीतको भिडियो दर्शक तथा श्रोताले रुचाइदिनेछन् भन्ने आशा गरेको छु ।’
अनुप गिरीले निर्देशन गरेको ‘कस्तो यो भाग्यमा…’ मा अभिनेत्री तथा मोडल अनु शाह र योगेश गुरुङले अभिनय गरेका छन् । गीतको भावअनुसार अनु र योगेश अभिनयमा डुबेका छन् । यस गीतको संगीत समेत मिङ्मा शेर्पाले नै गरेकी हुन् । मिङ्माको संगीत सिर्जनाबारे भनिरहनु पर्दैन किनकि, भिडियो हेरेपछि अवश्य यहाँहरुले आफै मूल्यांकन गर्नुहुनेछ । एसियन म्युजिकको बजार व्यवस्थापनमा दर्शक तथा श्रोतामाझ आएका यो भिडियोलाई निर्देशक गिरीले नै छायांकन र सम्पादन गरेका हुन् भने संगीत संयोजन राजन इशानले गरेका हुन् । भिडियो हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोला ।