रेखा थापा र छोटो पहिरन कुनै बेला एकअर्काका मानौँ पर्याय थिए । तर, पछिल्ला वर्षमा रेखाको पहिरन शैली फेरिएको छ । नेपाली फिल्मका नियमित दर्शकलाई अवगत होला, अघिल्लो फिल्म ‘हिम्मतवाली’मा रेखा थापा पश्चिम क्षेत्रको थारु महिलाको पहिरनमा नाचेकी थिइन् । त्यसैगरी फिल्म ‘रावण’मा धिमाल जातिको पहिरन लगाएकी थिइन् भने फिल्म ‘काली’का केही दृश्यमा मधेसी महिलाका रूपमा आफूलाई प्रस्तुत गरेकी थिइन् । नेपाली सांस्कृतिक पहिरनमा असाध्यै रुचि राख्ने बताउँछिन् उनी । तर, अघिल्ला चरणमा अरूका अनुसार आफू देखिने बाध्यताका कारण त्यस्तो गर्न नसकेको बताइन् । ‘त्यसैले पछिल्ला फिल्ममा कहीँ न कहीँ मौलिक पहिरन घुसाएकी छु,’ उनले भनिन् । थारु जातिको ठूलो पर्व माघीमा रेखाले सोही जातिका महिलाको पहिरनमा आफूलाई प्रस्तुत गरेकी छिन् । विभिन्न संस्कृतिलाई समेट्ने शुक्रवारको अभियानमा यसपल्ट रेखाले सहकार्य गरेकी हुन् । ‘यसपटक मलाई अझै धेरै खुशी मिलेको छ,’ उनले भनिन्, ‘फिल्म ‘तथास्तु’ माघीको शुभकामनास्वरूप एक हप्ताअघि नै रिलिज गर्दैछु ।’
तस्बिर शिवलाल श्रेष्ठ, द तस्बिर स्टुडियो बागबजार