सरकारी सम्मानसहित अत्येष्टी
– एमपी सुब्बा
काठमाडौं । अभिनेता श्रीकृष्ण श्रेष्ठको पार्थिव शरीरलाई सोमबार साँझ पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जली दिइएको छ । राष्ट्रिय सम्मानका साथ उनको अन्तिम विदाइ गरिएको थियो । उनको पार्थिव शरीरमा उनका दाजु मिनकृष्णले दागबत्ती दिएका थिए । सरकारको निर्णयअनुसार श्रीको पार्थिव शरीरलाई नेपाल प्रहरीको एक टुकुडीले सलामी दिएका थिए । श्रीलाई सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले राष्ट्रिय झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । कलाकारलाई यसरी सलामी दिएको सम्भवतः पहिलोपटक हो ।
अभिनेता श्रीकृष्णलाई अन्तिम श्रद्धाञ्जली दिन सोमबार राजधानीमा मावनसागर उर्लियो । नेपाली दर्शकमाझ लोकप्रिय श्रीकृष्ण अन्ततः दैवको पनि लोकप्रिय बनेर गए । अल्पायुमै दर्शकबाट दैवले चुँडेर लग्यो । श्रीकृष्ण आफू त गए नै, उनले परिवार, प्रशंसक र लाखौँ सर्वसाधारणलाई पनि रुवाए । चलचित्र ‘भुमरी’ बाट रजतपटमा डेब्युगरी ‘नाता’मार्फत दर्शकसँग गहिरो नाता गाँस्न सफल अभिनेता श्रीकृष्णको निधनप्रति राज्यले समेत दुःख व्यक्त गरेको छ ।
‘राज्यले एक कुशल कलाकार गुमाएको छ,’ प्रधानमन्त्री सुशील कोइरालाले श्रीकृष्णप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भने, ‘यस दुःखद घडीमा सम्पूर्ण कलाकार तथा चलचित्र क्षेत्रलाई धैर्यधारण गर्न अनुरोध गर्दछु ।’ प्रधानमन्त्री कोइरालाले शोक विज्ञप्ति जारी गर्दै कलाकार श्रीकृष्णको निधनले आफू स्तब्ध भएको जनाएका छन् । साथै, विभिन्न मन्त्री तथा राजनीति दलका नेताले पनि श्रीकृष्णको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनीहरूले श्रीकृष्णको निधनले राष्ट्रले एक कुशल र होनाहार कलाकार गुमाएको बताए ।
अभिनेता श्रीकृष्णलाई अन्तिम श्रद्धाञ्जली दिन नेपाल प्रज्ञा प्रतिष्ठान पुगेका सर्वसाधारणको सपना भने अपूरो रह्यो । श्रद्धाञ्जलीका लागि प्रज्ञामा बिहानैदेखि हजारौँ सर्वसाधारण तथा कलाकार श्रीकृष्णको पार्थिव शरीरको पर्खाइमा थिए । तर, प्रशंसकको अत्यधिक भिडले शव राख्न नसकेर सिधै पशुपति आर्यघाट लगियो । सोमबार दिउँसो २ बजे शव आइपुग्ने बताइए पनि साँझ ५ बजे मात्र प्रज्ञा भवनको गेटमा पु¥याइएको थियो । श्रीकृष्णको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन नपाएपछि कलाकार र सर्वसाधारण आक्रोशित भएका थिए ।
श्रीकृष्णलाई अन्तिम श्रद्धाञ्जली दिन नेपाली चलचित्र क्षेत्रका कलाकारलगायत विभिन्न राजनीतिक दलका नेता एवं मन्त्री उपस्थित थिए । अन्तिम श्रद्धाञ्जली दिन एमाओवादी अध्यक्ष प्रचण्ड, गृहमन्त्री वामदेव गौतम, कानुनमन्त्री नरहरि आचार्यलगायत प्रज्ञा पुगेका थिए । तर, त्यहाँ शव नराखे पनि उनीहरू फर्केका थिए भने केहीले आर्यघाटमै गएर श्रद्धाञ्जली दिए । पूर्वराजा ज्ञानेन्द्र शाहले पनि श्रीकृष्णको निधनले राष्ट्रले कुशल कलाकार गुमाएको विज्ञप्ति जारी गरी जनाए । उनले शोकसन्तप्त परिवारलाई धैर्यधारणका लागि ईश्वरले शक्ति प्रदान गरुन् भनेका छन् ।
४७ वर्षीय श्रीकृष्णको दिल्लीस्थित गंगाराम अस्पतालमा उपचारकै क्रममा आइतबार बिहान निधन भएको थियो । ‘डिप निमोनिया’ ग्रस्त रहेको बताइए पनि उनको निधन ‘वोन क्यान्सर’ बाट भएको जनाइएको छ । श्रीकृष्णको शव इन्डियन एयर लायन्सबाट दिउँसो ३ बजे त्रिभुवन विमानस्थल ल्याइएको थियो । एयरपोर्टबाट बानेश्वर, माइतीघर हुँदै नेपाल प्रज्ञा प्रतिष्ठान ल्याउँदा शव यात्रामा हजाराँै सर्वसाधारण सहभागी थिए ।
२३ असारमा अभिनेत्री श्वेता खड्कासँग बिहेपछि २७ असारमा उनीहरू हनिमुनका लागि सिमला पुगेका थिए । तर, श्रीकृष्णको स्वास्थ्यमा समस्या देखिएपछि उनी दिल्लीस्थित गंगाराम अस्पतालमा उपचार गराइरहेका थिए । साढे दुई दशकको अभिनयकारितमा श्रीकृष्णले नेपाली चलचित्र क्षेत्रलाई सय बढी चलचित्र दिएका छन्, जो सबै हिट छन् । नृत्यमार्फत कलाकारिता सुरु गरेका श्रीकष्णलाई नेपाल प्रहरीको एक टुकडीले सलामी दिएको थियो ।