‘एन्जेलिना’ सार्वजनिक गरेपछि अनिलाले भनिन्- गीतसंगीतविना म बाँच्नै सक्दिनँ
screennepal
प्रकाशित: २०७९, १० भाद्र शुक्रबार
no img

काठमाडौं, १० भदौं । झण्डै दुई दशकदेखि बेलायतलाई कर्मथलो बनाउँदै आएकी गायिका तथा गीतकार अनिला राईले एकसाथ दुई कृति ल्याएकी छन् । गायिका अनिलाको यसै साता आफ्नो जन्मदिनको अवसर पारेर एकल स्वर तथा शब्दरचनामा गीति एल्बम ‘एन्जेलिना’ र गीति पुस्तक ‘योद्धा, पपी फूल र म’ ल्याएकी हुन् ।

गायिका अनिलाको बर्थ–डे केक काटेर सुरु गरिएको कार्यक्रममा गीति एल्बम ‘एन्जेलिना’, गीति पुस्तक ‘योद्धा, पपी फूल र म’ तथा कविता संग्रह ‘अक्षरको ऐना’ सार्वजनिक गरिएको थियो । ‘अक्षरको ऐना’ गायिका अनिलाका बुबा गंगा राईले लेखेका हुन् ।

बाबु–छोरीको कृतिलाई कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ अमर गिरि, बरिष्ठ कवि भूपाल राईलगायतले संयुक्तरुपमा लोकार्पण गरेका थिए ।

सार्वजनिक गरिएको ‘एन्जेलिना’ अनिलाको सातौँ एल्बम हो । गीति पुस्तक भने उनको पहिलो हो । एल्बम ‘एन्जेलिना’मा नौ वटा गीत संग्रहीत छन् । जसमा अनिलाको एकल शब्दरचना रहेको छ । करिब ६ वर्षपछि नेपाल आएर अनिलाले आफ्नो एल्बम सार्वजनिक गरेकी हुन् ।

एल्बम सार्वजनिक गरेपछि अनिलाले भनिन्, ‘दुई वर्ष अगाडि नै यी एल्बम निकाल्ने सोच थियो । तर, कोरोना महामारीले गर्दा ढिलाइ भयो ।’ आफू गीतसंगीत विना बाँच्न नसक्ने बताउँदै उनले बेलायतमा रहेर पनि नेपाली गीतसंगीतलाई निरन्तरता दिँदै आएको उनले बताइन् । अनिलाले आफ्नी छोरीको नाममा एल्बमको नाम जराएकी हुन् ।

सार्वजनिक अनिलाको यस सातौँ एल्बममा संग्रहीत नौ वटा गीतमध्ये दुई वटा गीतमा गायक रोशन राईले स्वरमा साथद दिएका छन् । एल्बममा ‘धाराको पानी’, ‘प्यारी छोरी’, पपी फूल’, ‘बेलायतको उत्तरी भेग’, ‘आमा’, ‘ढिडो र सिस्नु’, ‘पठाउँदै छ युद्ध भूमि’, ‘साकेला’ र ‘चिसो चिसो मौसम छ’ बोलका गीत रहेका छन् ।

यी गीतहरुमा सात वटामा अनिलाको एकल स्वर रहेको छ भने ‘धाराको पानी’ र ‘चिसो चिसो मौसम छ’ मा गायक रोशन राईले स्वरमा साथ दिएका छन् ।

‘प्यारी छोरी’, पपी फूल’, ‘बेलायतको उत्तरी भेग’, ‘आमा’ र ‘पठाउँदै छ युद्ध भूमि’ गीतमा शान्तिराम राईको संगीत रहेको छ । यस्तै, ‘धाराको पानी’ बोलको गीतमा संगीत रोशन राईले गरेका हुन् ।

यस्तै, ‘ढिँडो र सिस्नु’मा डाक्टर किरात र ‘साकेला’ मा जसिहाङ राई र ‘चिसो चिसो मौसम छ’मा सचिन सिंहको संगीत रहेको छ ।

गीति पुस्तक ‘योद्धा, पपी फूल र म’ एक सय १२ वटा गीत संग्रहीत छन् । जसमध्ये नौ वटा गीत रेकर्ड गरिएको हो । यस्तै, सार्वजनिक गरिएको गंगारामको कविता संग्रह ‘अक्षरको ऐना’ मा २४ कविता रहेका छन् ।

कार्यक्रममा तीन वटा गीतको भिडियो सार्वजनिक गरिएको थियो । ‘धाराको पानी’, ‘प्यारी छोरी’ र ‘आमा’को गीतको भिडियो कार्यक्रममा प्रिमियर गरिएको थियो । ‘धाराको पानी’ गीतको भिडियोलाई कमल राईले गरेका हुन् । भिडियोमा योगेन्द्र राई र उपशना नेम्बाङले अभिनय गरेका छन् ।

यस्तै, ‘प्यारी छोरी’ गीतको भिडियोमा गायिका अनिला र उनकी छोरी एन्जेलिना नै फिचरिङ छन् भने ‘आमा’ मा अनिला, उनकी आमा सत्यवति र एन्जेलिना राईले अभिनय गरेका छन् ।

Comments