जब सुनिए कवि दीप्सका सिर्जनाहरु…
screennepal
प्रकाशित: २०७६, ४ फाल्गुन आईतवार
no img


कवि दीप्स शाह एकल कविता वाचन सुनिएकी छन् । शनिबार नयाँअनलाइन डटकमको आयोजनामा सम्पन्न कविता वाचन कार्यक्रम कवि दीप्सले आफ्ना सिर्जनाहरु सुनाएर उपस्थित अतिथि एवं दर्शकलाई मनोरञ्जन प्रदान गरिन् । नेपाल प्रज्ञा–प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा दीप्सले १२ वटा कविता सुनाएकी थिइन् ।
कार्यक्रममा प्रमुख प्रा.डा. पौडेलले दीप्स शाहलाई सस्तो नारावादी नभई विचारोत्तेजक कविको रूपमा चित्रण गरेका थिए । केही समय अगाडि नेपाली नारी हस्ताक्षरसम्बन्धि पुस्तकमा दीप्सको परिचय पढेको जनाउँदै अब दीप्स नारी हस्ताक्षरमात्र नभई सिंगो मुलुकको हस्ताक्षर भएको धारणा व्यक्त गरे ।

कवितामाथि टिप्पणी गर्दै साहित्यकार बिना थिङ् तामाङले दीप्सका कवितामा आशावादी भेटाएको बताइन् । कविता होइन भन्दै धुँवादार कविता बोल्ने कवि दीप्सको सबै कवितामा आगो ओकलेको कुरा तामाङले चर्चा गरिन् । कार्यक्रममा उपन्यासकार मनिषा गौचन, श्रष्टा उषा शेरचनले पनि कवि दीप्सलाई शुभकामना दिएका थिए ।
दीप्सलाई सिर्जना राई, मिना कुलुङ, विष्णु नेम्बाङ र तिब्बत दर्लामीलगायतका सर्जकहरूले शाहका एक–एक कविता वाचन गरिदिएका थिए । नयाँअनलाइनका देवेन्द्र खापुङले सकेसम्म हरेक महिना यस्ता कार्यक्रमहरू गर्दै आउने जानकारी दिएका थिए ।

को हुन् दीप्स शाह?
वि.सं. २०३८ सालमा आमा शर्मिला सुवेदी र बुबा स्व. हरिप्रसाद सुवेदीको छोरीको रूपमा थाक्रे ८, जुगेखोला धादिङमा जन्मिएकी हुन् कवि दीप्स शाह । सानै उमेरदेखि साहित्यमा रुचि राख्ने दीप्सले प्रसुन (साहित्यिक सँगालो २०६२), आगो (कविता सँग्रह २०६७, २०६८), मुस्कानी फूलहरू (कविता सँग्रह २०६९), कृति प्रकाशन भइसकेका छन् । उनले राइजिङ स्टार (साप्ताहिक २०५८–६०)को सम्पादन गरेर पत्रकारिता क्षेत्रमा पनि पदार्पण गरेकी छिन् भने विचारहरूमाझ डा.दीर्घसिंह बम (जीवनी २०६२) पुस्तकको सम्पादन पनि गरेकी छिन् ।
उनको अनुभूतिमा इजरायल (यात्रा र अनुभव) पुस्तक प्रकाशोन्मुख छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनसास) र साहित्य सञ्जाल नेपालको आजिवन सदस्य रहेकी दिप्सले अनेसास इजरायलको सचिव रहेर काम गरिसकेकी छिन् ।
दीप्सले वि.सं. २०५६ मा जिल्लास्तरीय नारी दिवस वक्तृत्वकलामा प्रथम, बागमती अञ्चलस्तरीय वक्तृत्वकला (२०६८)मा तृतीय, अनेसास इजरायलबाट अभिनन्दन, नई गणेशदुर्गा पुरस्कार (२०६७) र अनलाइन लिटरेचर डटकम पुरस्कार तथा सम्मान (सन् २०११) आदि पुरस्कारहरू प्राप्त गरिसकेकी छिन् ।

Comments