कलाकारलाई किन विदेशकै मोह ?
screennepal
प्रकाशित: २०७६, १५ माघ बुधबार
no img

गायक राजेशपायल राई १२ महिनामा करिब ८ महिना विदेशमै हुन्छन् । ‘मेरो वर्षमा ८÷९ महिना त विदेशमै वित्छ’ एक प्रशंगमा ‘राई इज किङ’का रुपमा चिनिएका राजेशपायलले भने, ‘नेपाल त मेरो डेराजस्तो मात्रै हो ।’
राजेशपायल विदेशमा सबैभन्दा बढी कार्यक्रम गर्ने नेपाली गायकसमेत हुन् । जहाँ–जहाँ नेपाली पुगेका छन्, उनलाई त्यहाँ–त्यहाँबाट कार्यक्रमका लागि अफर आउने गरेको छ । तर, व्यस्तताका कारण आयोजक र संस्था हेरेर समय मिलाउँदै आएको राजेशपायलको भनाइ छ ।
हुन त यी ‘मेगा स्टार’मात्र होइनन्, अलिकति नाम चलेका र स्थापित अधिकांश गायक÷गायिका विदेशमै व्यस्त हुने गरेका छन् । उनीहरुको रोजाइ समेत विदेशमा कार्यक्रम नै पर्छ । राम्रो आम्दानी हुने भएकाले पनि कलाकारहरु विदेश कार्यक्रममै जोड दिइरहेका हुन्छन् । भनसुन गरेर होस् वा विदेशमा भएका आफन्तलाई फकाएरै किन नहोस्, उनीहरु विदेश नै जान खोज्छन् । यसको मुख्य कारण यहाँ हुने कार्यक्रममा पारिश्रमिक भनेजस्तो नपाउनु हो ।
नेपाली गीतसंगीत क्षेत्रकी चर्चित गायिका हुन् पन्त । लामो समयदेखि पाश्र्वगायनमा एकछत्र आफ्नो स्वरले राज चलाउँदै आएकी गायिका अञ्जु पनि विदेश कार्यक्रममै जोड दिन्छिन् । यी डिमाण्डेड गायिकाले केही समयअघि कार्यक्रमका लागि अमेरिका उड्ने बेला भनिन्, ‘नेपालमा कार्यक्रम गर्दा पैसा नै हुँदैन । यहाँको कार्यक्रममा रेट पाइँदैन । त्यसैले कलाकारका लागि विदेश कार्यक्रम नै राम्रो हो ।’
गायिका अञ्जु पन्त नेपालमा मात्र नभएर विदेशमा हुने कार्यक्रमका लागि समेत डिमाण्डेड छिन् । आफ्नो पारिश्रमिक रेटमा हत्तपत्त तलमाथि नगर्ने अञ्जुलाई हेरक दिनजसो विदेशमा हुने कार्यक्रमका लागि म्यासेज र फोन आइरहेको हुन्छ । तर, जस्तोसुकै आयोजकले अञ्जुको डिमाण्ड पूरा गर्न सक्दैनन् । तैपनि उनी १२ महिना करिब ६ महिना विदेशमा हुने कार्यक्रममै व्यस्त हुन्छिन् ।
कार्यक्रमकै सिलासिलामा लामो समय अमेरिका अल्झिएकी उनी आइतबारमात्र नेपाल आएकी छन् । यसपटक उनी झण्डै तीन महिना अमेरिका बसिन् । त्यो अवधिमा अमेरिकाको अधिकांश सहरमा कार्यक्रम गर्न भ्याएको अञ्जुले बताइन् । गायनसँगै सामाजिक कार्यक्रममा समेत सक्रिय रहँदै आएकी अञ्जुले यसपटक अमेरिकाको सांगीतिक भ्रमणका क्रममा सामाजिक कार्यका लागि समेत सहयोग जुटाउने प्रयास गरेकी छन् ।
अञ्जु पन्त फाउण्डेशनमार्फत सामाजिक कार्य गर्दै आएकी अञ्जुले नेपाल फर्किने दिन आफ्नो फेसबुक एकाउन्टमार्फत जानकारी गराउँदै लेखेकी छन् ‘केही समयको अमेरिका बसाइपछि नेपाल फर्किँदैछु । अमेरिका बसाइको क्रममा मलाई अञ्जु पन्त फाउण्डेशनलाई प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्नुहुने सबैप्रति धन्यवाद तथा आभार व्यक्त गदर्छ ।’
नेपाली गायन क्षेत्रका ‘मेगा स्टार’ राजेशपायल र चर्चित पाश्र्वगायिका अञ्जु पन्तको पछिल्लो उद्देश्य एउटै छ । नेपालका यी दुई संगीतहस्तीले डिमाण्ड गरेअनुसार केही रकम समाज सेवाका लागि छुट्याउँदै आएका छन् । त्यसैले यी दुवै कलाकारले स्टेज कार्यक्रम लागि चर्को डिमाण्ड गर्दै आएका छन् । राजेशपायलले ‘राजेशपायल राई फाउण्डेशन’मार्फत समाजसेवा गर्दै आएका छन् । उनले देश–विदेशमा गर्ने स्टेज कार्यक्रमबाट आएको आफ्नो पारिश्रमिकमध्ये केही हिस्सा फाउण्डेशनका लागि छुट्याउँदै आएका छन् ।
‘मेरो आफ्नो लागि स्टुडियोमा गाएकै परिश्रमिकले पुग्छ’ केही दिनअघिमात्र पुर्वाञ्चलको धरान, मोरङलगायतका स्थानमा कन्सर्ट गरेर काठमाडौं आएका राजेशपायलले भने, ‘तर, फाउण्डेशनमार्फत समाजमा केही गरौँ भनेर स्टेज कार्यक्रममा मैले डिमाण्ड गरेको हुँ ।’ दैनिक २ देखि पाँच वटासम्म गीत रेकर्डिङ गर्न भ्याउँदै आएका राजेशपायलले एक गीत बराबरा न्यूनतम २५ हजार रुपैयाँ लिँदै आएका छन् । गायिका अञ्जु पन्तको पनि स्केल यही हो ।
राजेशपायल राई र अञ्जु पन्त विदेशमा हुने कार्यक्रममा लाभिनुको कारण पैसा कमाउन मात्र नभएर फाउण्डेशनलाई कोष जम्मा गर्नु पनि हो । तर, यहाँ आफ्नो लागि कमाउन र स्डेन्डर्स मेन्टेन्स गर्नका लागिसमेत कलाकारहरु विदेशमा हुने कार्यक्रम ताक्ने गरेका छन् ।
नेपालको मात्र कमाइले कलाकारलाई आफ्नो स्डेन्डर्स मेन्टेन्स गर्न धौ–धौ पर्छ । यो सबैलाई थाहै छ । जसका कारण पछिल्लो समय अधिकांश कलाकार विदेशतिरै व्यस्त हुन थालेका छन् । यतिसम्म कि कुनै चाड पर्वका बेला नेपालमा कार्यक्रम गर्नका लागि कलाकारसमेत पाइँदैन ।
गएको क्रिशमस र अंग्रेजी नयाँ वर्षको समयमा यहाँ कलाकारको हाहाकार भएको थियो । जतिपनि भएका कलाकार हङकङ, युके, जापान, अमेरिका, युरोप र खाडी मलुकतिर हानिएपछि यसपटक काठमाडौंमा क्रिशमस र अंगे्रजी नयाँ वर्षमा सांगीतिक कार्यक्रम कमैमात्र भए । हरेक वर्ष क्रिमशस र अंग्रेजी नयाँ वर्षमा विशेष कार्यक्रम गर्दै आएका एक होटल सञ्चालकले भने, ‘यसपाली त कलाकारलाई नै पाइएन । सबै विदेश कार्यक्रममा व्यस्त भए । त्यसैले प्रत्येक वर्ष गरिँदै आएको कार्यक्रम रोकियो ।’ उनले आफूले गर्ने कार्यक्रममा कलाकारले डिमाण्ड गरेअनुसार पारिश्रमिक दिँदै आएको बताउँदै भने, ‘चाड पर्वमा नेपाली कलाकार नपाउँदा नरमाइलो लाग्छ ।’
नेपाली कलाकारले विदेशमा गर्ने कार्यक्रम नेपाली नै गर्ने हो । तर, किन विदेश भनेपछि मरिहत्ते गर्ने त ? पछिल्लो समय विदेश कार्यक्रममै व्यस्त रहेकी गायिका सहिमा श्रेष्ठले भनिन्, ‘विदेश हुने कार्यक्रम पैसाका लागिमात्र नभएर घुम्न पनि पाइन्छ । नेपालमा भन्दा राम्रो पारिश्रमिक पनि पाइन्छ । कलाकारलाई देशमा भन्दा विदेश हुने कार्यक्रममा सहभागी हुँदा फाइदा छ ।’
हालैमात्र करिब एक दर्जन यरोपियन मुलुकमा आफ्नो प्रस्तुती दिएर फर्केकी गायिका सहिमा नेपालमा पनि डिमाण्डेड छिन् । यहाँ हुँदासमेत उनलाई फुर्सदै हुँदैन । तर, विदेशबाट कार्यक्रमका लागि अफर आउनेवित्तिकै उनी यहाँको कार्यक्रम रद्द गरेर उत्तै लाग्छिन् । नेपालमा निश्चित भइसकेको कार्यक्रम रद्द गरेर विदेशको कार्यक्रम किन ताकिन्छ ? जवाफमा उनी भन्छिन्, ‘यहाँ त एउटा कार्यक्रम रद्द गरिएको हुन्छ । तर, विदेश गएपछि त्यहाँ एउटा कार्यक्रममात्र गरिँदैन । कम्तिमा दुईदेखि पाँच वटासम्म कार्यक्रम गरेर आउने भ्याइन्छ । त्यसैले जता फाइदा हुन्छ, कलाकारले त्यतै ताक्ने हो ।’
यहाँ चलेका कलाकारमात्र होइन, विदेशमा कार्यक्रम गर्ने उद्देश्यले जबरर्जस्ती गीत रेकर्डिङ गर्ने र यु–ट्युबमा राख्ने अनि प्रचारमा जुट््नेहरु पनि प्रसस्त छन् । यसरी विदेशकै लागि भनेर गीत गाउनेहरुलाई सुरुमा आफ्नो नातागोता र संघसंस्थाले तान्ने गरेका छन् । एकपटक विदेश गइसकेपछि ती कलाकारले अन्य देशमा पनि आफ्नो प्रचार गर्न थाल्छ । र, केही समयपछि उनी पनि विदेशका कार्यक्रममा व्यस्त हुन थाल्छन् ।
पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा देखिएको विदेश मोह प्रवृतिको तिव्र विकास भएको छ । यहाँ दैनिक दर्जनभन्दा बढी गीत तथा भिडियो यु–ट्युबमार्फत सार्वजनिक हुँदै आएको छ । ती गीतका गायक÷गायिकाको लक्ष्य भनेकै विदेश जानुको हो । नेपालमा गीतसंगीत एवं कलाकारितामा दाम नभएकाले पनि कलाकारहरु विदेश मोहमा चुर्लम्म डुेबेका छन् । यो रहर नभएर उनीहरुका लागि बाध्यता पनि हो । दृष्टि साप्ताहिकबाट

Comments