सर्लाहीमा जब गुञ्जियो ‘बसाई हिड्नेको तातीले…’
screennepal
प्रकाशित: २०७६, ३ माघ शुक्रबार
no img

बरिष्ठ गायक जेबी टुहुरेले सर्लाहीको हरिवनमा अभिनन्दित भएका छन् । उनले त्यहाँ आफ्ना कालजायी गीतमार्फत दर्शकको मन जितेका छन् ।
हरिवन–५ घुर्कैली स्थित श्रवण द्वन्दपीडित बालगृहमा आयोजित जेवी टुहुरे एकल गायनको चौथो सृँखलामा गायक टुहुरेले आफ्ना गीतहरु सुनाएका हुन् । द्वन्द पीडित बालगृहको सहयोगार्थ तथा नेपाल भ्रमण वर्ष २०२० को प्रवर्धनका लागि जेवी टुहुरेको यो एकल मा गायनमा यी गायकले आमा माया… बोलको गीतबाट कार्यक्रम सुरु गरेका थिए ।
प्रगतिवादी सांस्कृतिक अभियानमा २०२४ सालदेखि आफुले गाउँदै आइएका चर्चित गीतहरु टुहुरेले सो कार्यक्रममा गाएका हुन् । उनले बसाई हिड्नेको तातीले…, दुःखको बोझ विसाउन…, पानी चल्दैन रे…, बरु मेरो छाती छेड्ला… लगायतका गीतहरु सुनाए । उनले आमा दिदी बहिनी हो…गीत सुनाउँदा दर्शक नाचेका थिए । गीतलाई दोहोर्याएर गाउन अनुरोध समेत गरिएको थियो । सो क्रममा उनले आफ्ना १४ वटा गीतमार्फत सँगीतप्रेमीहरुको मन जिते ।
कार्यक्रमका प्रमुख अतिथि नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि टुहुरेका गीतमा रमेका थिए । सो क्रममा पूर्वप्रधानमन्त्री नेपालले हरिवन नगरपालिकाको तर्फबाट अग्रज गायक जेबी टुहुरेलाई अभिनन्दन गरे । सो अभिनन्दनले आफुलाई गायनमा निरन्तर अघि बढ्न अझ प्रेरणा मिलेको अग्रज गायक टुहुरेले बताए ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ६ दशक लामो जेवी टुहुरेको प्रगतिवादी साङ्गितिक क्षेत्रमा पुर्याउनु भएको योगदानको चर्चा गरे । उनले गीतले जहिले पनि श्रोता दर्शकमा उर्जा थप्ने गरेको नेपालले बताए । चेतना सन्देश नेपालको आयोजनामा सम्पन्न सो एकल गायनको सँयोजन सांस्कृतिक संस्थानका पूर्व महाप्रबन्धक राजेश थापालगायतले गरेका थिए ।
टुहुरेलाई एकल गायनमा प्राज्ञ उदय श्रेष्ठ, सँसाद मधु गुरुङ, कलाकार आकाश थापा र गंगा राईले पनि साथ दिए । सो कार्यक्रममा प्रत्यक्ष बाद्यबादनतर्फ क्याक्सोेफोन वादक मनोहर सुनाम, वेस गीतारमा अनुप दास, तवलामा भरत बुढाथोकी, ढोलकमा राम सुस्लिङ, मादलमा पोषण घर्ती, बाँसुरीमा गोपालदेव घतानी, किवोर्डमा राहुल भुजेल, अक्टोप्याडमा शशिभुषण भट्टराई र गीतारमा दिवस श्रेष्ठ थिए ।

Comments