‘भ्रमण वर्ष’लाई सर्पोट गर्ने भुवनको यस्तो गीत (लिरिकल भिडियो)
screennepal
प्रकाशित: २०७६, २३ पुष बुधबार
no img

सन् २०२० लाई सरकारले २० लाख पर्यटक भित्राउने लक्ष्यका साथ ‘नेपाल भ्रमण वर्ष’ मनाइरहेको छ । सरकारको घोषणालाई सघाउने उद्देश्यले कलाकारले पनि आ–आफ्नो ठाउँबाट पर्यटन प्रवद्र्धन गरिरहेका छन् ।
यस्तै, गायक तथा संगीतकार भुवन सुप्तिहाङ राईले ‘नेपाल भ्रमण वर्ष–२०२०’लाई टेवा पुग्ने गरी ‘आहा कति सुन्दर बारपाक गाउँ मेरै’ बोलको पर्यटकीय गीत सार्वजनिक गरेका छन् । उक्त गीतमा गोरखा, बारपाकको प्राकृतिक सौन्दर्य र विशेषतालाई ब्याख्या गरिएको छ ।
सरकारद्वारा घोषित ‘नेपाल भ्रमण वर्ष’लाई सघाउ पुगोस् भन्ने हेतुले आफ्नो पर्यटकीय गीत सार्वजनिक गरेको उनले बताए । बारपाक गोरखाको पर्यटकीय क्षेत्रमध्ये एक हो । उक्त सुन्दर पर्यटकीय बस्ती २०७२ सालको विनासकारी भूकम्पले तहस–नहस बनाएको थियो । तर, पुर्न्निर्माणपछि फेरि हेर्न र घुम्न लायकको बनेको छ बारपाक । गुुरुङ समुदायको बाहुल्यता रहेको बारपाकमा पुग्ने जोकोहीको लोभिन्छ ।
भुवनको सार्वजनिक गीतमा बारपाकको तिनै सुन्दरता र विशेषतालाई समेटिएको छ । यसअघि विभिन्न पर्यटकीय गीतहरु गाइसकेका भुवनले यसपटक आफ्नो गीतमार्फत बारपाक घुम्न आग्रह गरेका छन् । बारपाक विदेशीका लागि मात्र नभएर आन्तरिक पर्यटकका लागि समेत एकपटक घुम्नै पर्ने स्थानमा पर्छ ।
गीतकार जेबी संयोगीको शब्द र गायक भुवनकै संगीत रहेको ‘आहा कति सुन्दर बारपाक गाउँ मेरै’ गीतको संगीत संयोजन सञ्जय हमालले गरेका हुन् । यो गीत भुवनको पाँचौ एल्बम ‘सम्मान मेरो’मा समावेश छ । यस गीतलाई अहिलेका लागि लिरिकल भिडियोमा सार्वजनिक गरेको सुनाउँदै उनले भने, ‘यस गीतलाई पछि बारपाकमै गएर भिडियो बनाउने सोच छ ।’
हाल अमेरिकामा रहेका गायक भुवनले सयौँ गीतमा स्वर तथा संगीत गरिसकेका छन् । उनका आधा दर्जनभन्दा बढी पर्यटकीय मात्र गीत रहेका छन् । पुर्वको इलाम, भेडेटारजस्ता पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने हेतुले त्यहाँको सुन्दरता र विशेषताका बारेमा गीत गाइसकेका भुवनले भने, ‘आहा कति राम्रो बारपाक मेरै गाउँ’ गीत सुनेर जो कोही पनि एकपटक बारपाक जाने सोच बनाउन सक्छ ।’

Comments