तीज गीत : अरुका पुराना भए, हरिले बल्ल ल्याए (भिडियोसहित)
screennepal
प्रकाशित: २०७६, ४ भाद्र बुधबार
no img

हरितालिका पर्व तीज आउनलाई अब धेरै दिन छैन । एक महिना अघिबाटै तीजसम्बन्धीत गीतहरु सार्वजनिक गरिँदै आएको छ । अरु गायक÷गायिकाका गीत रिलिज भएर पनि पुराना हुन लाग्दा भाकाका लागि चर्चित गीतकार तथा संगीतकार हरि विष्टको ‘माइतीको देश–२’ बजारमा आएको छ ।
उनले विगतका वर्षहरुमा झैँ यसपटक पनि केही ढिलो गरी गीत सार्वजनिक गरेका हुन् । अरुले तीज आउन महिना दिनअगावै सार्वजनिक गर्छन् । तर, अरुभन्दा ढिलो गरी तीज गीत सार्वजनिक गर्नु हरिको विशेषता नै बनेको छ ।
सार्वजनिक गीतमा लोकप्रिय गायिका टिका पुनको आवाज रहेको छ । हरि विष्टको शब्द तथा संगीत रहेको उक्त गीतका लागि संगीत संयोजन झलक संगीतमले गरेका छन् ।
तीजको मौलिकता झल्काउने यस गीतको भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन् । भिडियोमा वरिष्ठ कलाकार तथा निर्देशक नीर शाह, रमा थपलिया, प्रकाश गिरी र ममता खड्काको अभिनय रहेको छ । करण चैसिरको छायाँकन रहेको यस भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका छन् ।

Comments